वीरगञ्ज हुँदै साढे ७९ अर्बको सामान निर्यात, भटमासको तेल मात्रै ४३.६१ अर्बको बाहिरियो

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आवको ९ महिनामा ७९ अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको ९ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १० अर्ब १९ करोड रुपैयाँ अर्थात् १५ प्रतिशत बढी निर्यात भएको हो । जबकी गत आवको ९ महिनामा भने ६९ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो ।

यो नाका हुँदै चालु आवको ९ महिनामा ४३ अर्ब ६१ करोड रुपैयाँ पर्ने भटमासको प्रशोधित तेल निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने ३६ अर्ब ६२ करोड रुपैयाँ पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको थियो । 

चालु आवको नौ महिनामा ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ भने गत आवको सोही अवधिमा भने ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । 

त्यस्तै  चालु आवको ९ महिनामा ५ अर्ब २४ करोड रुपैयाँको प्रशोधित पाम तेल निर्यात भयो भने गत आवको सोही अवधिमा भने ५९ करोड रुपैयाँको मात्रै भएको थियो । चालु आवको ९ महिनामा ५ अर्ब ५ करोड रुपैयाँ बराबरको सूर्यमुखीको प्रशोधित तेल निर्यात भयो भने गत आवको सोही अवधिमा भने ६ अर्ब ६१ करोड रुपैयाँको भएको थियो । 

चालु आवको नौ महिनामा २ अर्ब ६९ करोड रुपैयाँको विभिन्न किसिमका कपडा निर्यात भयो । त्यस्तै चालु आवको नौ महिनामा १ अर्ब ९४ करोड रुपैयाँ बराबरको सिन्थेटिक यार्न निर्यात भएको वीरगञ्ज भन्सारले जनाएको छ ।

Share News