भ्रामक सूचना फैलाउनेलाई कडा कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । पछिल्लो समय अनलाइन मिडिया र सामाजिक सञ्जालमा आधारहीन, मिथ्या र भ्रामक सूचनाहरू बढ्दै गएको प्रति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

मन्त्रालयले बुधबार (आज) एक विज्ञप्ति जारी गर्दै यस्ता कपोलकल्पित सामग्रीले समाजमा गलत मनोविज्ञान फैलाएको र आम नागरिकलाई भ्रमित पारेको उल्लेख गरेको छ ।

सरकारले भ्रामक सूचना सम्प्रेषण गर्ने कार्यलाई अत्यन्त गम्भीरतापूर्वक लिएको बताउँदै त्यस्ता गतिविधिमा संलग्न हुने जो-कोहीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

समाचार प्रदायक संस्था तथा व्यक्तिहरूलाई आधिकारिक निकायबाट पुष्टि नभएका र हचुवाका भरमा कुनै पनि सामग्री प्रकाशन वा प्रसारण नगर्नसमेत मन्त्रालयले सचेत गराएको छ ।

यदि कसैले आधारहीन र भ्रामक समाचार फैलाएको पाइएमा विद्युतीय कारोबार ऐन तथा अन्य सम्बद्ध कानुन बमोजिम कडा कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कुनै पनि सामग्री आफ्नो व्यक्तिगत खाताबाट सेयर गर्नुअघि त्यसको आधिकारिकता जाँच गर्न र भ्रम फैलाउने कार्यमा सहभागी नहुन मन्त्रालयको अपिल छ ।

मन्त्रालयले भ्रामक सूचना फैलिएको थाहा पाएमा वा त्यस्ता सामग्रीबारे केही गुनासो भएमा मन्त्रालयको आधिकारिक वेबसाइटमा रहेको सामाजिक सञ्जाल गुनासो दर्ता पोर्टलमा उजुरी दिन सकिने जनाएको छ।

साथै थप जानकारीका लागि फोन नम्बर वा इमेलमा समेत सम्पर्क गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । 

Share News