काठमाडौं । ललितपुरमा प्रहरीलाई ड्युटीमा अवरोध गर्नुका साथै होटल, रेस्टुरेन्टमा खाजा खाएर बिल नतिर्ने सम्धी ग्रुपका १० जना पक्राउ परेका छन् ।
ललितपुर प्रहरी परिसरका अनुसार ३९ वर्षीय इश्वरमान तामाङ, २९ वर्षीय सुरेन्द्र योन्जन, २७ वर्षीय निकेश तामाङ, ४० वर्षीय प्रकाश डिम्डुङ, २८ वर्षीय राजेश तामाङ, २८ वर्षीय गणेश नेगी, ४० वर्षीय वीरबहादुर स्याङतान, २३ वर्षीय विजय स्याङ्तान, २२ वर्षीय दिनेश भोम्जन र २० वर्षीय साजन तामाङ पक्राउ परेका हुन् ।
ललितपुर चापागाँउ एरियामा लामो समयदेखि ललितपुर सम्धी ग्रुप तथा झयालुङ्टार ग्रुपका नाममा उनीहरूले रेष्टुरेन्टमा पैसा नर्तिर्ने, हप्ता उठाउने, प्रहरीलाई समेत ड्युटीमा अवरोध गर्ने, गिटी तथा प्राकृतिक स्रोतमा दादागिरी गर्ने लगायतका काम गर्दै आइरहेका थिए ।
हुलहुज्जत गर्दै टिम बनाई हिँड्ने र डर त्रास सिर्जना पैदा गर्ने गरेको ललितपुर प्रहरी परिसरका प्रवक्ता गौतम मिश्रले बताए ।
सबैजनालाई नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।