सर्वसाधारण ठग्ने ६३१ बिचौलिया पक्राउ

सार्वजनिक सेवा केन्द्रहरू बिचौलियामुक्त बनाउने अभियान देशभर जारी

एआईको सहायताले बनाइएको तस्बिर ।

काठमाडौं । नेपाल प्रहरीले सार्वजनिक सेवा प्रवाह हुने कार्यालयहरूमा हुने बिचौलियाको चलखेल र सर्वसाधारणमाथि हुने ठगी नियन्त्रणका लागि आफ्नो सक्रियता तीव्र पारेको जनाएको छ । 

नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्लेले बिचौलिया विरुद्धको कारबाही अभियानलाई अझ प्रभावकारी बनाउँदै लगिएको जानकारी दिए । 

उनले सरकारी कार्यालयहरूमा सर्वसाधारणलाई अनावश्यक झन्झट दिने र काम गरिदिने बहानामा रकम असुल्ने बिचौलियाहरूलाई प्रहरीले सूक्ष्म निगरानीमा राखेको बताए । उनका अनुसार प्रहरीले विभिन्न भेषमा खटिएर यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउ गरिरहेको छ ।

प्रवक्ता काफ्लेले यो अभियान केही समय अघिदेखि नै सुरु गरिएको र यसले सेवाग्राहीहरूमा सुरक्षाको अनुभूति गराएको दाबी गरे । 

‘हामीले बिचौलियाहरूको प्रवृत्ति र उनीहरूले गर्ने ठगीका शैलीहरूलाई नजिकबाट हेरिरहेका छौं,’ उनले भने, ‘अहिलेसम्म धेरै बिचौलियाहरू कानुनी दायरामा आइसकेका छन् । ’

प्रवक्ता काफ्लेले यो अभियान कुनै निश्चित समयका लागि मात्र नभई, सार्वजनिक सेवा केन्द्रहरू बिचौलियामुक्त नभएसम्म निरन्तर जारी रहने स्पष्ट पारे । 

प्रहरीको यो कदमले यातायात कार्यालय, मालपोत, र राहदानी विभाग जस्ता बढी भीडभाड हुने स्थानमा सर्वसाधारणले भोग्नुपर्ने सास्ती कम हुने अपेक्षा गरिएको छ ।

प्रहरीको यो अभियानले पछिल्लो समय देशभरका सरकारी कार्यालयहरूको सेवा प्रवाहमा सुधार आएको छ । प्रहरीले बिचौलियाहरुलाई पक्राउ गर्न थालेपछि यातायात, राहदानी, मालपोत, नापीलगायत कार्यालयको सेवा प्रवाहमा केही सकारात्मक परिवर्तनहरू देखिएका हुन् ।  

यसअघि यी सरकारी कार्यालयजस्ता अड्डाहरूमा बिचौलियाका कारण सेवाग्राहीले सास्ती पाउँदै आएका थिए ।

नेपाल प्रहरीले सर्वसाधारणलाई पनि सचेत रहन र कुनै पनि काम गर्दा बिचौलियाको सहारा नलिन आग्रह गरेको छ । यदि कसैले सेवा लिने क्रममा अनावश्यक रकम मागेमा वा बिचौलियाले दुःख दिएमा तुरुन्त नजिकैको प्रहरी कार्यालय वा प्रहरीको हटलाइन नम्बरमा सम्पर्क गरी सूचना दिन प्रवक्ता काफ्लेले आह्वान गरे । 

हालसम्म देशभरका विभिन्न कार्यालयबाट नेपाल प्रहरीले ६३१ जना बिचौलियालाई पक्राउ गरेको जनाएको छ । प्रहरीको यस सक्रियताले सरकारी संयन्त्रमा पारदर्शिता बढ्ने र आमनागरिकले बिना झन्झट सेवा पाउने वातावरण निर्माण हुने विश्वास लिइएको छ ।

यस्तो छ हालसम्म देशभरबाट पक्राउ परेका बिचौलियाको विवरण:

null
 

Share News