वीरगन्ज हुँदै ६ खर्ब ९४ अर्बको सामान आयात, पेट्रोलियम पदार्थ मात्रै डेढ खर्बको भित्रियो

काठमाडौं । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको ९ महिनामा ६ खर्ब ९४ अर्ब ५ करोड रुपैयाँका वस्तु तथा सामान आयात भएको छ ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आवको ९ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ८० अर्ब ४४ करोड रुपैयाँ अर्थात् १३ प्रतिशत बढी आयात भएको हो ।

जबकि गत आवको नौ महिनामा भने ६ खर्ब १३ अर्ब ६१ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै हुने आयातमा बढोत्तरी भएको बताए । 

यो नाका हुँदै चालु आवको ९ महिनामा १ खर्ब ४८ अर्ब १६ करोड रुपैयाँको पाँच थरिको पेट्रोलियम पदार्थ आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने १ खर्ब ४० अर्ब १० करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको थियो । 

चालु आवको नौ महिनामा ६२ अर्ब २६ करोड रुपैयाँ पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । गत आवको सोही अवधिमा भने ५५ अर्ब ९ करोड रुपैयाँका फलाम तथा फलामबाट बनेका सामान भित्रिएको थियो ।
 
चालु आवको ९ महिनामा ५० अर्ब ४० करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा ३८ अर्ब १५ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भयो ।

चालु आवको ९ महिनामा ४९ अर्ब १३ करोड रुपैयाँ पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ । जबकि गत आवको नौ महिनामा भने ४० अर्ब ५७ करोड रुपैयाँको मेसिनरी तथा पार्टपुर्जा भित्रिएको थियो ।
 
चालु आवको नौ महिनामा ३४ अर्ब १९ करोड रुपैयाँ पर्ने इलेक्ट्रिक मेसिनरी उपकरण र तिनका पार्टपुर्जा भित्रिएको छ भने गत आवको सोही अवधिमा भने ३० अर्ब १४ करोड रुपैयाँका इलेक्ट्रिक मेसिनरी उपकरण र तिनका पार्टपुर्जा आयात भएको थियो । कार्यालयले चालु आवको ९ महिनामा १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

Share News