पहाडी भू-भागमा आंशिक बादल, तराईमा तातो लहर

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा देशका हिमाली भू-भागमा सहित कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भू-भागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बादल  लाग्ने र बाँकी भू-भागमा मौसम  सफा रहनेछ ।

कोशी प्रदेशको हिमाली र पहाडी भू-भागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम सम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

त्यसैगरी आज राति कोशी प्रदेशको हिमाली र पहाडी भू-भागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

Share News