काठमाडौं । कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गित चौधरीको पहलमा किसानलाई सिधै बजार पहुँच दिलाउने व्यवस्था गरिने भएको छ । कृषकले आफ्नो उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता गर्न बजारका बिचौलिया तह घटाउने उद्देश्यसहित किसान सेड (बिक्री स्थल) अनिवार्य रूपमा व्यवस्थित गर्ने निर्णय गरिएको हो ।
कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिका, २०७३ अन्तर्गत सञ्चालित ११ वटा कृषि थोक बजार, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथा स्थानीय तहमा सञ्चालित हाटबजारहरूमा फार्मर्स सेडको संरचना भए/नभएको, सञ्चालनमा रहे/नरहेको अवस्थाको अध्ययन गरी सञ्चालनमा नरहेका संरचनालाई यथाशीघ्र सञ्चालनमा ल्याउने र व्यवस्थापन गर्ने निर्णय मन्त्रीस्तरबाट गरिएको छ ।
यसमार्फत स्वदेशी, स्थानीय तथा रैथाने उत्पादनहरू किसानबाटै सिधै बिक्री गर्ने व्यवस्था मिलाइने बताइएको छ । निर्णयअनुसार थोक बजारमा कम्तीमा १० प्रतिशत स्टल समूह वा सहकारीमार्फत किसानलाई उपलब्ध गराइनेछ भने स्थानीय हाटबजारमा ५० प्रतिशत क्षेत्र स्थानीय उत्पादनका लागि छुट्याइनेछ । यसले किसानको आम्दानी बढाउन र उपभोक्ताले पनि ताजा तथा स्थानीय उत्पादन सहज रूपमा पाउने अपेक्षा गरिएको छ ।