धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति गठन, के चाहिन्छ योग्यता ?

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । 

उनका अनुसार समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र बैंकिङ विज्ञ भुवन दाहाल रहेका छन् ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ अनुसार राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अध्यक्ष सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ । सोही कानुनी प्रावधानअनुसार समिति गठन गरिएको हो ।

ऐनअनुसार समितिले कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ । त्यसपछि मन्त्रिपरिषद्ले तीमध्येबाट एक जनालाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने प्रावधान रहेको छ ।

यसअघि धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका थिए । व्यापारी दीपक भट्टसँग सम्बन्धित सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा उनको नाम मुछिएपछि उनले गत शुक्रबार अर्थमन्त्री समक्ष राजीनामा बुझाएका थिए ।

श्रेष्ठलाई सरकारले २०८१ मंसिर १० गते नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

कति चाहिन्छ योग्यता ?

नयाँ गठित सिफारिस समितिले बोर्डको अध्यक्ष पदका लागि योग्य उम्मेदवार सिफारिस गर्नेछ । बोर्डको अध्यक्ष नियुक्तिसम्बन्धी कानुनी व्यवस्था स्पष्ट गरिएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार अध्यक्ष नियुक्त गर्दा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव हासिल गरेका लब्ध प्रतिष्ठित व्यक्तिहरूमध्येबाट उपयुक्त व्यक्तिलाई नियुक्त गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी अध्यक्ष सिफारिसका लागि गठन हुने समितिले आफ्नो कार्यविधि आफैं निर्धारण गर्न सक्ने कानुनी व्यवस्था पनि रहेको छ ।

ऐनअनुसार अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ। सो अवधिपछि निज पुनः बढीमा थप चार वर्षका लागि नियुक्त हुन सक्ने प्रावधान रहेको छ।

Share News