काठमाडौं । नेपाल माइक्राे इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको गत चैत १० गते बैठकले तेस्रो वार्षिक साधारण सभा वैशाख १० गते डाक्यो । कम्पनीको सभा चितवन मिडटाउन होटल चितवनमा बिहान ११ बजे बोलाइएको थियो ।
कम्पनीले दुई पटक राष्ट्रियस्तरका पत्रिकामा सूचना प्रकाशित गरेर सेयरधनीहरुलाई जानकारी गराएको पनि थियो । तर, वैशाख ४ गते बसेको सञ्चालक समिति बैठकले उक्त सूचनालाई रद्द गरी अर्काे व्यवस्था नभएसम्मका लागि साधारण स्थगित गर्ने निर्णय गर्याे । के कति कारणले कम्पनीको सभा स्थगित भएको भन्ने विषय स्पष्ट खुलाइएको छैन ।
सबै तयारी पूरा भएर पनि साधारण सभा अन्तिम समयमा आएर स्थगित भएपछि यसको कारणबारे चासो बढेको छ । औपचारिक रूपमा कम्पनीले आन्तरिक प्राविधिक कारण भने पनि वास्तविक कारण भने फरक नै रहेको छ । स्रोतका अनुसार व्यवसायी दीपक भट्ट पक्राउ परेपछि कम्पनीको निर्णय प्रक्रिया नै प्रभावित भएको हो ।
भट्ट कम्पनीका प्रमुख संस्थापक सेयरधनीमध्ये एक हुन् । उनको नाममा करिब ११ लाख २५ हजार कित्ता सेयर रहेको छ, जसले साधारण सभामा बहुमत कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । साधारण सभा सञ्चालनका लागि संस्थापक सेयरधनीहरूको प्रोक्सी (अधिकारपत्र) अनिवार्य हुने व्यवस्था छ ।
तर, भट्टको अनुपस्थितिमा आवश्यक हस्ताक्षर संकलन हुन नसक्दा बहुमत सुनिश्चित गर्न कठिन भएको कम्पनी स्रोतको दाबी छ ।
‘व्यक्ति उपस्थित हुनु अनिवार्य नहुने भए पनि प्रोक्सीमा हस्ताक्षर अनिवार्य हुन्छ । सबै संस्थापकको हस्ताक्षर नपुगेपछि सभा सञ्चालन गर्न सम्भव भएन,’ स्रोतले भन्यो ।
भट्ट अहिले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानको दायरामा छन् । अनुसन्धानकै क्रममा रहेकाले उनको हस्ताक्षर लिन वा प्रतिनिधि तोक्नसमेत जटिलता उत्पन्न भएको स्रोत बताउँछ । यही कारण कम्पनीले जोखिम मोलेर सभा सञ्चालन गर्नु भन्दा स्थगित गर्नु उपयुक्त ठानेको हो ।
यी हुन् कम्पनीका ठूला सेयरधनी
आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार नेपाल माइक्रोइन्स्योरेन्समा १४ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् । कम्पनीको सेयर संरचना अनुसार व्यवसायी भट्टको नाममा २१.४३ प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर रहेको छ ।
त्यस्तै, सेन्ट्रम क्यापिटल प्रालिको पनि २१.४३ प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर रहेको छ भने सारथी क्यापिटल प्रालिसँग १०.७० प्रतिशत अर्थात् ५ लाख ६२ हजार कित्ता सेयर रहेको छ ।
यस्तै, रहिशा शाह श्रेष्ठ, हुलास अटोक्राफ्ट प्रालिर सुभम दुगडको ५.७१ प्रतिशत अर्थात् ३ लाख कित्ता सेयर रहेको छ । यसैगरी प्रेम गुरुङ एण्ड ग्रुप प्रालिसँग २.३८ प्रतिशत अर्थात् १ लाख २५ हजार कित्ता सेयर रहेको छ भने प्रिन्टसेल इमेजिङ प्रा. लिमिटेड सँग २.१० प्रतिशत अर्थात् १ लाख १० हजार कित्ता सेयर रहेको छ ।
यस्तै, सुलोचना अग्रवाल र लिला अग्रवालको समान १.९० प्रतिशत अर्थात् १ लाख कित्ता, लतिका गोल्यान, साक्षी बन्सल (गुप्ता) र आकांक्षा गुप्ता प्रत्येकसँग १.४३ प्रतिशत अर्थात् ७५ हजार कित्ता र लियोन मोटर्स प्रालिसँग १.६२ प्रतिशत अर्थात् ८५ हजार कित्ता सेयर रहेको छ ।