काठमाडौं । जगदम्बा इन्टरप्राइजेज प्रालिले सन् २०२५ मा १४ अर्ब ५९ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ०.६५ प्रतिशत अर्थात् ९ करोड ६० लाख रुपैयाँले घटेको हो । सन् २०२४ मा कम्पनीले १४ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको थियो। कमजोर माग र निर्माण गतिविधिमा आएको सुस्तताका कारण मूल्य घट्दा आम्दानी घटेको कम्पनीले जनाएको छ ।
पछिल्लो समय उद्योगमा चुनौतीपूर्ण अवस्था रहे पनि कम्पनीले उत्पादन प्रक्रियाको एकीकरणमार्फत भविष्यमा नाफा वृद्धि गर्ने तथा प्रतिस्पर्धात्मक क्षमता मजबुत बनाउने अपेक्षा गरिएको छ । कम्पनीले सन् २०२३ मा १५ अर्ब ४६ करोड रुपैयाँ, सन् २०२२ मा १५ अर्ब ४६ करोड १० लाख रुपैयाँ, सन् २०२१ मा १४ अर्ब २ करोड ६० लाख रुपैयाँ, सन् २०२० मा १४ अर्ब ९८ करोड १० लाख रुपैयाँ, सन् २०१९ मा १९ अर्ब ६६ करोड १० लाख रुपैयाँ, सन् २०१८ मा १६ अर्ब ७० करोड ८० लाख रुपैयाँ र सन् २०१७ मा ११ अर्ब ५५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
वि.सं. २०५७ साल चैत १५ गते स्थापना भएको कम्पनीले पर्साको जीतपुरस्थित कारखानाबाट एम.एस. ब्ल्याक तथा ग्याल्भनाइज्ड पाइप उत्पादन गर्दै आएको छ । दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको कम्पनीले विभिन्न प्रकारका स्टिलजन्य सामग्री उत्पादन गरी नेपालको औद्योगिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । सन् २०२५ को जुलाई मध्यसम्म कम्पनीको कुल स्थापित उत्पादन क्षमता वार्षिक ९ लाख २० हजार ६०० मेट्रिक टन पुगेको छ । यसले कम्पनीलाई नेपालकै प्रमुख इस्पात उत्पादक कम्पनीमध्ये एकको रूपमा स्थापित गरेको छ।

कम्पनीको प्रवद्र्धन नेपालका उद्योगपति तथा व्यापारीहरूले गरेका हुन्, जो सिमेन्ट उत्पादन, निर्माण सामग्री व्यापार तथा होटल व्यवसायलगायत विभिन्न क्षेत्रमा संलग्न छन् । कम्पनीको सञ्चालन तीन सदस्यीय सञ्चालक समितिको मार्गदर्शनमा हुन्छ भने दैनिक व्यवस्थापन अनिल कुमार रुङ्टा र विशाल पटवारीले सम्हाल्दै आएका छन् ।
जगदम्बा इन्टरप्राइजेजले जगदम्बा र जग शक्ति नामबाट बजारमा बलियो पहिचान बनाएको छ । कम्पनीसँग देशभर फैलिएको डिलर सञ्जाल रहेको छ, जसले प्रमुख शहरहरूमा यसको उत्पादनको स्थायी बजार सुनिश्चित गरेको छ ।
यस क्रममा कम्पनीले इस्पात पगाल्ने एकाइ र तातो स्ट्रिप उत्पादन गर्ने मिल स्थापना गरेको छ, जुन क्रमशः सन् २०२२ को नोभेम्बर र २०२३ को जुलाईदेखि सञ्चालनमा आएका छन् । यी परियोजनामा कुल २ अर्ब २४ करोड ६१ लाख रुपैयाँ लगानी गरिएको छ ।
कम्पनीका मुख्य कच्चा पदार्थहरू भारतबाट आयात हुने भएकाले मूल्य अन्तर्राष्ट्रिय बजारसँग जोडिएको छ । सन् २०२५ मा कच्चा पदार्थ लागत कुल आम्दानीको करिब ९१ प्रतिशत पुगेको छ, जसले नाफामा प्रत्यक्ष प्रभाव पारेको छ । साथै, अमेरिकी डलरमा आधारित आयातका कारण विदेशी विनिमय दरको जोखिम पनि उच्च रहेको छ । सोही वर्ष कम्पनीले ३४ मिलियन रुपैयाँ विदेशी विनिमय घाटा बेहोरेको छ ।
कम्पनीले विभिन्न आकार र प्रकारका स्टिल उत्पादनहरू निर्माण गर्दछ, जसमा टीएमटी बार, एमएस ब्ल्याक पाइप, ग्याल्भनाइज्ड आइरन पाइप, हट रोल्ड स्ट्रिप, शटर प्रोफाइल, शटर गाइड, शटर स्प्रिङ, लक प्लेट, प्रिफ्याब्रिकेटेड भवन सामग्री, डब्लु–बिम तथा विभिन्न स्टिल पोलहरू समावेश छन् । यी उत्पादनहरूको प्रयोग निर्माण, अटोमोबाइल, रसायन तथा तेल उद्योग लगायतका विभिन्न क्षेत्रमा हुन्छ । उत्पादन विविधताले कम्पनीलाई कुनै एक मात्र उद्योगमा निर्भर हुनुपर्ने जोखिम घटाएको छ र फराकिलो ग्राहक आधार बनाउन मद्दत गरेको कम्पनीको दाबी छ ।
कम्पनीको उद्योग पर्सा जिल्लामा भारत–नेपाल सीमाबाट करिब १५ किलोमिटर दूरीमा तथा वीरगञ्ज सुक्खा बन्दरगाह नजिक अवस्थित छ, जसले ढुवानी लागत घटाउन सहयोग पु¥याएको छ । मध्यम अवधिमा नेपालमा स्टिल उत्पादनको माग वृद्धि हुने अपेक्षा गरिएको छ, किनभने देश पूर्वाधार, ऊर्जा र पर्यटन क्षेत्रमा विकासको चरणमा छ । सडक, पुल, सार्वजनिक संरचना तथा निजी निर्माण कार्यको विस्तारले स्टिलको माग निरन्तर रहन सक्ने अनुमान छ ।
सरकारले सडक, जलविद्युत, विमानस्थल लगायतका पूर्वाधार विकासमा जोड दिइरहेको कारण पनि स्टिल उद्योगलाई सकारात्मक प्रभाव पर्ने देखिन्छ । तर निकट भविष्यमा आर्थिक वृद्धि सुस्त हुनु र सरकारी खर्च अपेक्षाभन्दा कम हुनुका कारण निर्माण क्षेत्र प्रभावित भएकाले उद्योगमा चुनौतीहरू पनि कायम रहने कम्पनीको अनुमान छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ दीर्घकालीन र १३ अर्ब ९२ करोड रुपैयाँ अल्पकालीन गरी कुल १५ अर्ब ८० करोड ६६ लाख रुपैयाँ ऋण लिएको छ ।