काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । १० मंसिर २०८१ मा नियुक्त भएका श्रेष्ठले नियुक्ति भएको छोटो समयमै पद त्यागेका हुन् । उनले शुक्रबार अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका छन् ।
राजीनामा पत्र बोकेर मन्त्रालय पुगेका श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको बताए । सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाइ छ ।
दीपक भट्टको सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानमा श्रेष्ठको नाम पनि जोडिएपछि सरकारले उनलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेको थियो ।
सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले आफूले राजीनामा दिन लागेको उनले शुक्रबार नै बोर्ड सञ्चालकहरूलाई जानकारी गराएका थिए ।