काठमाडौं । नेपाल प्रहरीले आफ्नो मातहतका प्रहरीलाई फुटपाथमा सवारीसाधन पार्किङ नगर्न निर्देशन दिएको छ ।
प्रहरीले सवारीसाधन पार्किङ गर्दा सर्वसाधारणको आवागमनमा अवरोध हुने प्रहरीले उल्लेख गरेको छ ।
‘कानुन कार्यान्वयन गर्ने निकायका सदस्यहरूको सडक अनुशासन विपरीतका कार्यले सर्वसाधारण नागरिकको आवागमनमा बाधा पुग्नुका साथै प्रचलित नियम कानुनको समेत उल्लङ्घन हुने गर्दछ,’ प्रहरीले भनेको छ, ‘कानुनको पालना गर्ने र गराउने गहन जिम्मेवारी बोकेको संस्थाका सदस्यहरूले सवारी साधन प्रयोगमा उच्च अनुशासन कायम गर्नु आवश्यक छ ।’
प्रहरी एकाइ तथा प्रहरी कर्मचारीहरूलाई सरकारी प्रयोजनको होस् वा आफ्नो निजी होस्, सवारीसाधन चलाउँदा र सवारीसाधन पार्किङ गर्दा ट्राफिक नियमहरूको पूर्ण रुपमा पालना गर्न प्रहरीले अनुरोध गरेको छ ।
सामाजिक सञ्जालमा नेपाल प्रहरीको सवारी साधन फुटपाथमा पार्क गरिएको तस्बिर सम्प्रेषण भएको सम्बन्धमा नेपाल प्रहरीले आपत्ति जनाएको छ ।