दिउँसै असुरक्षित काठमाडौं ? ५४ प्रतिशत अपराध दिउँसोको ६ घण्टाभित्रै

काठमाडौं ।  प्रहरीले काठमाडौंका विभिन्न ठाउँमा भएका आपराधिक क्रियाकलापको समयको विश्लेषण गरेको छ । चोरी तथा अन्य आपराधिक घटना मध्यान्ह १२ बजेदेखि ६ बजेसम्म ५४ दशमलव ८ प्रतिशत हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

सबैभन्दा बढी आपराधिक क्रियाकलाप मध्यान्ह १२ बजेदेखि ६ बजेसम्म हुने गरेको पाइएको हो ।

त्यसैगरी, ६ बजेदेखि रातको १२ बजेसम्म २१ प्रतिशत आपराधिक क्रियाकलाप हुने गरेको प्रहरीको विश्लेषणबाट खुलेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार बिहानको ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म १८.८ प्रतिशत आपराधिक क्रियाकलाप हुने गरेको छ ।

सबैभन्दा कम आपराधिक क्रियाकलाप रातको १२ बजेदेखि बिहान ६ बजेसम्म ५ दशमलव ५ प्रतिशत आपराधिक क्रियाकलाप हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

त्यसैगरी, काठमाडौं प्रहरीले विभिन्न आपराधिक समूहमा सक्रिय युवाहरूको सूची तयार पारेको जानकारी दिएको छ ।  

गुण्डागर्दी भए या आपराधिक पृष्ठभूमिका युवाहरूले त्रास देखाए सूचना उपलब्ध गराउन पनि प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले पछिल्लो समय सामाजिक सञ्जालमार्फत आफ्नो समूह देखाउन भिडियो पोस्ट गर्ने, अनावश्यक तडकभडक गरेर नागरिकको मनोविज्ञान त्रास पार्नेहरूको सूची तयार पारेको छ ।

सूचीमा पर्नेहरूमा अधिकांश गुण्डागर्दी समूहका युवाहरू रहेको प्रहरीले जानकारी दिएको छ ।

Share News