जेनजी आन्दोलनमा मृत्यु भएका ४२ जना आफन्तले दिए जाहेरी, ७ शवको डीएन परीक्षण जारी

काठमाडौं । गत वर्षको भदौमा जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७ जनाको अझै पहिचान नखुलेको पाइएको छ । 

शुक्रबार काठमाडौं जिल्ला प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पवनकुमार भट्टराईले सात जनाको मृत्यु भएको हालसम्म पहिचान खुल्न नसकेको बताए ।

‘सात जनाको शव पहिचान हुन नसक्दा डीएनए परीक्षण भइरहेको छ,’ उनले भने ।

आन्दोलनमा ४९ जनाको मृत्यु भएको उनले जानकारी दिए । ४२ वटा शवको पहिचान भएर सनाखत भइ जाहेरी दरखास्त परेको उनले बताए । 

४२ वटा शवको ज्यानसम्बन्धी मुद्दा दर्ता भएको उनले जानकारी दिए । २३ गतेको घटनाको सम्बन्धमा विभिन्न समयमा ९ वटा जाहेरी परेको प्रवक्ता भट्टराईले बताए । 

असोज २७ गतेको निर्णय अनुसार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको केही जाहेरीहरू तामेलीमा राखिएको उनले उल्लेख गरे ।

तामेलीमा रहेका जाहेरीमध्ये एउटा जाहेरीलाई जिल्ल सरकारी वकिल कार्यालय काठमाडौंको निर्णय अनुसार तामेली जगाइ अनुसन्धान गरिएको छ,’ प्रवक्ता भट्टराईले भने, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ अनुसन्धान गरिएको छ ।’

अदालतको आदेशबाट पूर्वप्रधानमन्त्री ओली र लेखक रिहा भए पनि अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए ।

शवको मुचुल्का तथा परीक्षण लगायत सम्बन्धित कागजातको अध्ययन भइरहेको उनले उल्लेख गरे । 

सीसीटीभी फुटेज संकलन, विश्लेषण, प्रत्यक्षदर्शी र घटना देख्ने  एवं थाहा पाउने व्यक्तिको कागज समेतका अनुसन्धान भइरहेको उनको भनाइ छ ।

Share News