जब पाकिस्तानी महिला काठमाडौंबाट बस चढेर सुन लुट्न कपिलवस्तु पुगे...

एआईको सहायतामा बनाइएकाे तस्बिर ।

काठमाडौं । गत चैत ३० गते सुन चोरी गरेको आरोपमा दुई जना पाकिस्तानी महिला पक्राउ परे । २० वर्षीया बीबी काल्सुम र ४१ वर्षीया साभ्नालाई कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

स्थानीय तथा सुनचाँदी व्यवसायीहरूले दुई जना अपरिचित महिलाहरूले सुन लुटेर लगेको खबर प्रहरीकोमा पुर्याए । उनीहरूलाई ती महिलाले सुनचाँदी पसलमा आइ सञ्चालकलाई झुक्याएर ठगी गरी भागेका थिए । कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा उक्त सूचना पुग्नसाथ प्रहरी पनि उनीहरूको खोजीमा लाग्यो ।

उनीहरूको हुलिया सोधखोज गरी प्रहरी आफ्नो खोजतलासमा सक्रिय भयो  । हरेक ज्वेलर्सका सीसी क्यामेरा हेरेर प्रहरी शंकास्पद महिलाको खोजीमा लाग्यो ।

दुई पाकिस्तानी महिलाले सुनको गरगहना खरिद गर्न आएको भन्दै विभिन्न किसिमका गरगहना देखाउन लगाउने गरेका थिए । 

सुरेन्द्र सुनचाँदी ज्वलेर्सका सञ्चालकलाई अलमलमा पारेर पसलमा राखिएको सुनको झुम्का लिएर उनीहरू फरार भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रिपेन्द्र सिंह ठकुरीले बताए ।

उनका अनुसार महिलाहरू फरार भएको सूचना प्राप्त हुनसाथ उक्त स्थानमा वडा प्रहरी कार्यालय चन्द्रौटामा प्रहरी टोली खटिई सुनको गरगहनासहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरूको साथबाट प्रहरीले सुनको गहना झुम्का १ जोर (३८ लाल), ८६ हजार ४० रुपैयाँ, दुई थान पासपोर्ट र पाकिस्तानी ३० रुपैयाँ जफत गरेको छ । 

उनीहरू गत चैत्र २८ गते मध्यान्ह कपिलवस्तु नगरपालिका १ को शिव मन्दिर टोलको बागेश्वरी ज्वेलर्समा सुन साट्ने बहानामा पुगेका थिए । सुनजस्तो देखिने पहेंलो धातुको १ जोर रिङ र सिक्री एक थान देखाइ सक्कली सुन भन्दै बदलामा सुन पसलबाट १ तोला बढीको सक्कली सुनको गरगहना मागेर २ मिनेटमा आउँछौं भन्दै पसलबाट फरार भएका थिए । 

त्यसैगरी, ३० गते कपिलवस्तु नगरपालिका १ को शिव मन्दिर टोलमा रहेको सच्चिदानन्द ज्वेलर्समा सुनको गरगहना किन्ने बाहानामा सुन पसलमा उनीहरू पुगेका थिए । 

उनीहरूले ज्वेलर्स सञ्चालकलाई विभिन्न गरगहनाहरु देखाउन लगाएका थिए ।उनीहरूले करिब ४ लाखको सुनको सिक्री चोरेर फरार भएका थिए । 

उनीहरू गत चैत १० गते काठमाडौं आएका थिए । उनीहरू १ महिनाको भिजिट भिसामा नेपाल आएका हुन् । ‘काठमाडौंबाट उनीहरू बस चढी कपिलवस्तु पुगेका थिए,’ ठकुरीले भने ।

कपिलवस्तु जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान भईरहेको सिंहले जानकारी दिए ।

Share News