स्थानीय मिडियालाई उपेक्षा गर्ने सरकारी निर्णय सच्याउन उपप्रमुख पाण्डेको माग

काठमाडौं । गोरखाको पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेले सरकारी विज्ञापन र सूचनाहरू केवल सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रवाह गर्ने सरकारको पछिल्लो निर्णयप्रति असहमति जनाएकी छन् । 

अर्थ मन्त्रालयमा बिहीबार (आज) आयोजित अन्तर–सरकारी वित्त परिषद्को बैठकमा बोल्दै उनले असहमति जनाएकी हुन् ।

सरकारले तीनै तहका सरकारी निकायलाई सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको सन्दर्भमा उनले यस्तो नीतिले स्थानीय स्तरमा सूचनाको पहुँचलाई कमजोर बनाउने बताएकी हुन्।

उपप्रमुख पाण्डेका अनुसार गाउँघरमा रेडियो नेपाल सुन्ने वा गोरखापत्र पढ्ने नागरिकहरूको संख्या अत्यन्त न्यून रहेको र स्थानीय सञ्चारमाध्यमहरूबाट गरिने सूचना प्रवाह नै बढी प्रभावकारी हुने गरेको छ । 

नगरपालिकाले पनि आफ्ना कार्य र सूचनाहरू स्थानीय मिडियामार्फत नै सार्वजनिक गर्ने अभ्यास गरिरहेको उनले स्पष्ट पारिन् ।

साथै उप(प्रमुख पाण्डेले सरकारको यो निर्णयले देशभरका सामुदायिक रेडियो र धेरै संख्यामा रहेका निजी सञ्चारमाध्यमहरूलाई ठूलो आर्थिक संकटमा धकेल्ने चेतावनी समेत दिइन् । 

सरकारी विज्ञापनको बजेटबाट वञ्चित हुँदा धेरै मिडियाहरू बन्द हुने अवस्थामा पुग्ने उल्लेख गर्दै उनले सरकारलाई तुरुन्त यो निर्णय सच्याउन मागसमेत गरेकी छन् ।

Share News