पेट्रोलियम पदार्थको मूल्यवृद्धि
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्य राति अर्थात् अहिले १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिक तर्फ मूल्यवृद्धि गरिएको जनाएको छ ।
नयाँ मूल्य सूचीअनुसार डिजेल/मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ ।
परिवर्तित मूल्यअनुसार, डिजेल/मट्टितेलको प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ ।
लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दा समेत पेट्रोलमा प्रतिलिटर २.३२ रुपैयाँ, डिजलमा प्रतिलिटर ८७.९९ रुपैयाँ, मट्टितेलमा ३६.७० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१.२५ रुपैयाँ घाटा कायम रहेको निगमले जनाएको छ ।
पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
