हेटौँडा सिमेन्ट उद्योग: ४० करोड विद्युत् बक्यौता, उत्पादनभन्दा खर्च बढी

काठमाडौं । आर्थिक सङ्कट झेल्दै आएको हेटौंडा सिमेन्ट उद्योगलाई नियमित रूपमा सञ्चालन गर्न माग गरिएको छ । रूग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने सरकारी तयारीसँगै बारम्बार बन्द र सञ्चालन हुने अवस्थाबाट गुज्रिरहेको उक्त उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने आवाज उठेको हो ।

सिमेन्ट उद्योगलाई पुनः नियमित रूपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सांसद प्रकाश गौतमले प्राथमिकता दिएका छन् । उनले उद्योगको समस्या समाधान गरी नियमित सञ्चालनका लागि सङ्घीय तथा बागमती प्रदेश सरकारसँग पहल गरिरहेको बताए ।

‘हेटौंडा सिमेन्ट उद्योगलाई कसरी नियमित रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री र उद्योगमन्त्रीसँग पनि कुरा गरेको छु,’ सांसद गौतमले भने, ‘केही दिनअघि बागमती प्रदेशका मुख्यमन्त्रीसँग पनि छलफल गरेको छु, उहाँहरूले सकारात्मक आश्वासन दिनुभएको छ ।’

उनका अनुसार उद्योगका कर्मचारीहरूसँग पनि अन्तरक्रिया भइरहेको छ र सबैबाट सकारात्मक सुझाव आएको छ । ‘उद्योग सञ्चालन सम्भव छ, तर सरकारी संरचनाका कारण सेवामुखी भन्दा तलब मुखी प्रवृत्ति हावी भएको देखिन्छ,’ उनले भने ।

उद्योगमा हुने राजनीतिक हस्तक्षेप, आन्तरिक भ्रष्टाचार नियन्त्रण गरी सक्षम व्यवस्थापन टोली गठन गर्न सके उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने उनको भनाइ छ ।

उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा गत भदौ १९ देखि २४ गतेसम्म मात्र पाँच दिन उद्योग सञ्चालन भएको थियो । उक्त अवधिमा २ हजार ५०० टन क्लिङ्कर र करिब ३० हजार बोरा सिमेन्ट उत्पादन भएको निमित्त महाप्रबन्धक डा. शिव नारायण साहले बताए । 

गत चैत १३ गतेदेखि पुनः क्लिङ्कर उत्पादन सुरु गरिए पनि कच्चा पदार्थ अभावका कारण पुनः रोकिएको छ । कोइला खरिदका लागि बोलपत्र आह्वान गरिए पनि पुरानो बक्यौता भुक्तानी गर्न नसक्दा कोइला आपूर्ति हुन सकेको छैन ।

‘हाल मौज्दात कच्चा पदार्थबाट क्लिङ्कर उत्पादन भइरहेको छ, तर एक-दुई दिनमै उत्पादन ठप्प हुने अवस्था छ,’ साहले भने, ‘उत्पादन बन्द भए पनि कर्मचारी तलब, इन्धन र मर्मत खर्च भने निरन्तर भइरहेका छन् ।’

उद्योग सञ्चालनका लागि दैनिक कम्तीमा १२० टन कोइला आवश्यक पर्ने भए पनि हाल आपूर्ति ठप्प रहेको उनले बताए । साथै, आर्थिक अभावका कारण अतिरिक्त काम गरेको भुक्तानीसमेत दिन नसकिएको जनाइएको छ ।

उद्योगमा हाल १६६ स्थायी, १०० दैनिक ज्यालादारी र ५२ सुरक्षाकर्मी गरी कुल ३१८ जना कार्यरत छन् । विद्युत् महसुलसमेत लामो समयदेखि तिर्न नसक्दा करिब ३०-४० करोड रुपैयाँ बक्यौता रहेको उद्योग प्रशासनले जनाएको छ ।

वि.सं २०३३ मा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि उत्पादन सुरु गरेको थियो । हाल उपकरण पुराना भइसकेका कारण उत्पादन क्षमता प्रभावित भएको प्राविधिकहरूले बताएका छन् ।

Share News