तराईमा मौसम सफा, पहाडमा वर्षा हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका पहाडी र हिमाली भू-भाग साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागलगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै तथा गण्डकी प्रदेशका पहाडी भू-भागलगायत बाँकी हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको  सम्भावना रहेको छ ।

त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने, तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Share News