काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई केही नौलो कामको थालनी, सकारात्मक सोचको विकास, भ्रातृत्व भाव र स्वस्थ जीवनशैलीका लागि नव सङ्कल्प लिने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
नयाँ वर्ष २०८३ को उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले नववर्षले व्यक्तिगत जीवनमा अनुशासन, स्थिरता र सकारात्मकता ल्याउने उल्लेख गरे । उनले नयाँ वर्षले सामाजिक र सांस्कृतिक स्तरमा अपनत्व, सहिष्णुता र भाइचारालाई मजबुत बनाउने अवसर पनि प्रदान गर्ने विश्वास व्यक्त गरे ।
उपराष्ट्रपति यादवले यस अवसरमा आर्थिक उन्नयन, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा जलवायु परिवर्तनजस्ता विषयमा एकजुट भई अघि बढ्ने दृढ सङ्कल्प लिन जरुरी रहेको उल्लेख गरे । उनले संविधानले निर्दिष्ट गरेका समानुपातिक प्रतिनिधित्व, सुशासन र समाजवादप्रति प्रतिबद्धता सुदृढ गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सबल बनाउन नयाँ वर्षले सबैलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गरे ।
उनले नववर्षको शुभारम्भसँगै तराई-मधेसका केही क्षेत्र विशेषमा मनाइने ‘सतुवाइन’ ‘जुड्शीतल’ र ‘सिरुवा पावनी’ पर्व तथा काठमाडौँ उपत्यकामा आयोजना हुने ‘विस्काजात्रा’ (विश्वध्वजपातन) को पनि सबै नेपालीमा शुभकामना व्यक्त गरे ।
यी पर्व/जात्राले आपसी मेलमिलाप, सद्भाव र भाइचारा अभिव्यक्त गर्न सघाउने र यसले सांस्कृतिक विविधता र ऐतिहासिक परम्पराको गौरवलाई पनि उजागर गर्ने उनको भनाइ छ ।
‘हाम्रा पर्व/जात्रा/विशेष अवसरले नेपालको मौलिक पहिचानलाई थप बलियो बनाउँदै सामाजिक समरसता र राष्ट्रिय एकतालाई जीवन्त राख्ने कार्यमा योगदान पुर्याउँछन्,’ उपराष्ट्रपति यादवले भने, ‘सिरुवा पावनीमा परिवारजनबीचको आत्मीयता र विस्का जात्रामा समुदायगत सहभागिताले हाम्रो सांस्कृतिक विरासतलाई पिँढीदर पिँढी जीवित राख्न सघाउँछ ।’