अण्डाको मूल्य १५ रुपैयाँ बढ्यो, उत्पादन लागत प्रतिगोटा १९.१२ रुपैयाँ

काठमाडौं । अण्डको उत्पादनमा कमी र माग बढे पछि मूल्य बढेको छ । लेयर्स कुखुरा पालक सङ्घले फार्महरूको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाएको हो ।

बढेको मूल्यअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा) को फार्म मूल्य ४६५ रुपैयाँ पुगेको छ । यसअघि प्रतिक्रेट ४५० रुपैयाँमा बिक्री गरिएको ठूलो अण्डाको मूल्य १५ रुपैयाँले बढेको हो । यस्तै मझौला अण्डाको फार्म मूल्य ४१५ रुपैयाँ कायम गरिएको छ । यसअघि यो अण्डा ४०० रुपैयाँमा बिक्री हुँदै आएको थियो ।

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा ५६५ रुपैयाँ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको रेट ५५० रुपैयाँ थियो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार कुखुरामा देखिएको रोग र बढ्दै गएको गर्मीका कारण उत्पादनमा कमी आएको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यादेखि नै भएको पर्यटकीय चहलपहल र गतिविधि बढेका कारण अण्डाको माग बढेको छ । सीमा क्षेत्रमा कडाइ गरिएकाले बाहिरबाट अण्डा आउने क्रम घटेको छ । यिनै कारणले अण्डाको माग बढेको र उत्पादन घटेकाले मूल्य बढेको हो । यद्यपि लागत मूल्यमा पुग्न सकेको छैन ।

अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९.१२ रुपैयाँ पर्न आउँछ । यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका छन् । मूल्य बढ्ने आशमा किसान रहेका छन् ।

सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको छ । अध्यक्ष पोखरेलले अब अण्डाको मूल्य बढेर लागत मूल्यसम्म पुग्ने अपेक्षा गरिएको बताए । 

Share News