काठमाडाैं । लघुवित्त वित्तीय संस्थाले ऋणीको हितमा खर्च गर्नेगरी अलग्गै कोष खडा गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तहरूका लागि जारी गरेको सञ्चालन मार्गदर्शन २०८१ अनुसार लघुवित्त संस्थाहरूले ग्राहक संरक्षण कोष खडा गनुपर्ने भएको हो ।
लघुवित्त वित्तीय संस्थाले कोषको लेखापरीक्षण प्रतिवेदन तथा वार्षिक कार्य सम्पादन प्रतिवेदन तयार गर्नुपर्ने उल्लेख छ । यस्तै, संस्थाले ग्राहक संरक्षण कोष सञ्चालनसम्बन्धी कार्यविधि तयार गर्नुपर्नेछ ।
मार्गदर्शन अनुसार उक्त कोषको रकम देहायबमोजिमका कार्यहरूका लागि मात्र उपयोग गर्नु पाइन्छ
१. सम्पूर्ण ऋणीहरूको व्यवसाय सञ्चालन सीप जस्तै लेखा राख्ने, वित्तीय विश्लेषण गर्ने तालिममा हुने खर्च,
२. उद्यमशीलता विकास सम्बन्धी कार्यक्रममा हुने खर्च,
३. समस्यामा परेका ऋणीहरूको पुनस्र्थापनाका लागि सहुलियत ब्याजदरको कर्जा,
४. ग्राहक तथा ऋणी सदस्यलाई मानवीय सहायता (सुत्केरी स्याहार, औषधी उपचार, काजक्रिया, शिशु स्याहार जस्ता) खर्च,
५. प्राकृतिक प्रकोप, सरुवा रोगबाट सृजित महामारीको अवस्थामा दिइने सहयोग,
६. सदस्यहरूका बालबालिकाको भविष्यको लागि छात्रवृत्ति एवम् पाठ्यसामाग्री प्रदान गर्दा हुने खर्च,
७. सदस्यहरूको नियमित स्वास्थ्य जाँचको लागि हेल्थ क्याम्प सञ्चालन, नजिकको स्वास्थ्य चौकीहरूमा स्वास्थ्य उपकरणहरूको खरिदको लागि हुने खर्च,
८. वातावरणीय संरक्षण जस्तै वृक्षारोपण जस्तो कार्यमा हुने खर्च ।