काठमाडौं । मंगलबार सेयर बजारमा १४५ अंकको गिरावट हुनु बजार करेक्सन मात्रै रहेको लगानीकर्ताहरूले बताएका छन् । नेप्से परिसूचक १४५.०५ अंकले घट्दा मंगलबार कारोबार रकममा भने नयाँ रेकर्ड कायम भएको छ । दिनभरि ३२२ कम्पनीको २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जुन कारोबार रकम हालसम्मकै उच्च हो ।
सत्ता समिकरणपछि बजारमा करेक्सन नआई निरन्तर बढिरहेकाले यो करेक्सन आवश्यक रहेको लगानीकर्ताहरूको भनाइ छ । लगानीकर्ता छोटेलाल रौनियारका अनुसार १४५ अंकको गिरावट बजार करेक्सन मात्रै रहेको र सेयर बजार अझै निरन्तर बढ्ने बताउँछन् ।
‘सत्ता समिकरणपछि एक÷दुई दिनमा सामान्य करेक्सन आएपनि समग्र सेयर बजार घटेको थिएन । त्यसैले मंगलबारको गिरावट बजार करेक्सन र प्रोफिट बुक मात्रै हो,’ उनी भन्छन्, ‘आजको बजार करेक्सन मात्रै हो भन्ने कुरा त कारोबार रकमले पनि बताएको छ ।’
त्यस्तै लगानीकर्ता तुलसीराम ढकालले पनि मंगलबारको बजार गिरावट करेक्सन मात्रै रहेको बताए । ‘बजार घट्नु भनेको बजार अझै मजबुद बन्दै गएको भन्ने उदाहरण हो,’ उनी भन्छन्, ‘मंगलबारको गिरावट मुख्यत प्रोफिट बुकको लागि करेक्सन मात्रै हो र यो करेक्सनले बजारलाई बलियो बनाउँदै लैजान्छ ।’
लगानीकर्ता तारा फुलेल पनि मंगलबार १४५ अंकको गिरावट भएपनि यो करेक्सन र प्रोफिट बुकको लागि मात्रै भएको बताउँछन् ।
‘हेर्दा त यो ठुलो ठुलो अंकको गिरावट हो तर, पनि यो गिरावट भनेको मार्केट करेक्सन र प्रोफिट बुकको लागि मात्रै हो,’ उनी भन्छन्, ‘लगानीकर्ताहरूले ढुक्कले लगानी गरे हुन्छ, केही समय बजार अझै बढ्छ ।’
मंगलबार घटेको बजारमा ८ कम्पनीको सेयर मूल्य बढेको छ भने २३३ कम्पनी घटेको छ । त्यस्तै १ कम्पनीको मूल्य स्थिर रहेको छ । फाइनान्स समूहका लगानीकर्ताले सबैभन्दा धेरै ८.२७ प्रतिशतका दरले गुमाएका छन् ।
मंगलबार सुचीकृत सबै समूह राताम्मै छन् । घटेको बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रिस्टार हाइड्रोपावर र कुथेली ब्रुखरीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्स, गुर्खास फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, एनआरएन इन्फास्टक्चर, सुभव पावर र हाथवे इन्भेष्टमेन्ट नेपालका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । कारोबार रकमको आधारमा सबैभन्दा धेरै हिमालयर रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको १ अर्ब ४९ करोड ७८ लाख रुपौयाँको सेयर कारोबार भएको छ ।