काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ ।
बिहीबार नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार ३३३ स्टकको ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ४ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सेयर घटेसँगै कारोबार रकम पनि क्रमश घट्दै गएको छ । मंगलबार ४ अर्ब १८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । अन्य समूह सबैभन्दा धेरै ०.९५ प्रतिशतले बढेको छ । विकास बैंकिङ उपसमूह ९ अंकले र म्युचुअलफण्ड ०.०७ प्रतिशतले बढेको छ । विकास बैंक उपसमूहको परिसूचक बुधबार सर्वाधिक १.०३ प्रतिशत घटेको थियो ।
त्रिशूली जलविद्युतको सेयर सर्वाधिक ७.०९ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा नेपाल फाइनान्स नै शीर्ष स्थानमा रहेको छ । फाइनान्सको २२ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार पनि कारोबार रकमको आधारमा सोही कम्पनी शीर्ष स्थानमा रहेको थियो । सो दिन कम्पनीको १६ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।