काठमाडौं । यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा कारोबार रकम उल्लेख्य रूपमा बढेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढ्दा कारोबार पाँच अर्ब ८९ करोड रुपैयाँ नाघेको थियो । नेप्से परिसूचक बिहीबार नौ दशमलव ३२ अंकले घट्दा कारोबार करिब रु ६ अर्ब ५० करोड नजिक पुगेको हो ।
नेप्से परिसूचक आज ०.४३ प्रतिशतले घटेर दुई हजार एक सय १२.२९ को बिन्दुमा कायम भएको छ । तीन सय १३ कम्पनीको एक करोड ४२ लाख ९४ हजार सात सय १२ कित्ता सेयर ७७ हजार चार सय पटक खरिद बिक्री हुँदा रु ६ अर्ब ४४ करोड ३० लाख २९ हजार बराबरको कारोबार भएको हो ।
आजको कारोबारमा विकास बैंक समूह १.३ र वित्त समूह २.०३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह र व्यापार समूह समान १.३ प्रतिशतले घटेका छन् ।
त्यस्तै, बैंकिङ ०.४३, होटल तथा पर्यटन ०.१५, जलविद्युत् ०.१५, जलविद्युत् ०.५९ र लगानी ०.६४ प्रतिशतले घटेको छ । जीवन बीमा समूहको उपसूचक ०.५१, लघुवित्तको ०.३८, म्युचुअल फण्डको ०.११, निर्जीवन बीमाको ०.८२ र अन्य समूहको उपसूचक ०.८१ प्रतिशतले घटेको छ ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको २८ करोड ४७ लाख ३९ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन बैंक लिमिटेड प्रमोटर सेयर सात लाख ५० हजार तीन सय ९४ कित्ता सेयर किनबेच भएको छ ।