काठमाडौं । बजेट पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक १.१२ प्रतिशतले घटेको छ ।
नेप्से २३.८१ अंक अर्थात् १.१२ प्रतिशतले घटेर २०८९.४२ बिन्दुमा कायम भएको छ । बजेट पछिको पहिलो कारोबार दिन सेयर बजारमा लगानीकर्ताको आकर्षण नदेखिएको हो । बजेटले कर सम्बन्धि कुनै हेरफेर नगरेपछि लगानीकर्ताहरू निराश भएका हुन् ।
नेप्से घटेपनि बुधबार कारोबार रकम भने बढेको छ । बुधबार ३१४ स्टकको ६३ हजार ८० पटकको कारोबारमा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यसअघि ३ अर्ब ८९ करोडको सेयर खरिदबिक्री भएको थियो ।
आज युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, बुधबार पोखरा फाइनान्सको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।
कारोबारमा आएको बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.४१ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको यस दिन १९ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१३ प्रतिशतले बढेको छ । आज बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक २.९४ प्रतिशत घटेको छ ।
बुधबार सेन्सेटिभ इण्डेक्स ४.८२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंकले घटेको छ ।