काठमाडौं । माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालन गर्दै आएको माउन्टेन ग्लोरीले आईपीओ निष्काशन गर्ने भएको छ । उक्त सेयर निष्काशनको लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त गरेको छ ।
बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता पत्रमा कम्पनीको तर्फबाट अध्यक्ष शुनिलभक्त श्रेष्ठ र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
विगत ८ वर्षदेखि पोखराको दोभिल्लास्थित रिसोर्ट एण्ड स्पा सञ्चालन गर्दै आएको कम्पनीले एक सय रुपैयाँ दरको ४० लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । माउन्टेन ग्लोरीमा हाल जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पामा एशियन लाइफ इन्स्योरेन्सको ४० प्रतिशत लगानी रहेकाे छ । एशियन लाइफ इन्स्योरेन्सले पछिल्लो समय पर्यटन, जलविद्युत, पूर्वाधार, बैंकिङ लगायतको क्षेत्रमा लगानी विस्तार गर्दै गएको छ ।
पोखराको दोभिल्लास्थित करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठासहित विषेश सुविधा सम्पन्न रिसोर्टको रुपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालनमा छ ।
निकट भविष्यमा सेयर निष्काशन पश्चात कोठाहरु थप गर्ने, विदेशी होटलसँग अनुबन्धन हुने र पाँच तारे होटलकोे रुपमा सेवा उपलब्ध गराउने कम्पनीको योजना रहेको छ ।