काठमाडौं । सरकारबाट सञ्चालित उदयपुर र हेटौंडा सिमेन्ट उद्योग सञ्चालन हुन नसक्ने अवस्थामा पुगेका छन् । उद्योगका सञ्चालक समितिका पदाधिकारीहरुका अनुसार बढ्दो सञ्चालक खर्च, आर्थिक स्रोतको समस्याले उद्योगबाट सिमेन्ट उत्पादनमा कमि आएसँगै उक्त दुई सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् ।
उदयपुर सिमेन्ट उद्योगका सञ्चालक समितिका अध्यक्ष केशव कुमार बस्नेतले उद्योगलाई स्तरोन्नति नगरेसम्म पूर्ण रूपमा उद्योग सञ्चालन गर्न नसकिने बताए । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार बसेको बैठकमा बस्नेतले उद्योगलाई अपडेट नगरे सञ्चालन गर्न कठिन हुने बताए ।
उदयपुर सिमेन्ट उद्योगको दैनिक १७ हजार बोरा सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता रहेता पनि हाल १/२ बोरा सिमेन्ट पनि उत्पादन गर्न गाह्रो भएको बस्नेतले जानकारी दिए । ‘उद्योगमा प्रयोग भएको मेसिन २५ वर्ष पुरानो छ, कहिले काहिँ मेसिन चल्दा चल्दै आफै बन्द हुन्छ, यस्तो कारणले गर्दा महिनामा १० दिन पनि राम्रोसँग चलाउन मुस्किल परेको छ,’ उनले भने, ‘समयमै उद्योगको अपडेट नगरे उद्योग बन्द हुने अवस्था छ ।’
बस्नेतका अनुसार एकपटक मेसिन बिग्रेर मर्मत गर्दा १५/१६ लाख रुपैयाँ खर्च हुन्छ । हाल बजारमा सिमेन्टको माग कमि भएको बताउँदै प्रतिबोरा २५० रुपैयाँसम्म घाटा खाएर सिमेन्ट बेच्नु परेको उनको भनाई छ । उद्योगबाट गुणस्तर सिमेन्ट उत्पादन हुने भएकाले अन्य सिमेन्ट उद्योगको तुलनामा उत्पादित सिमेन्टको मूल्य महँगो रहेको पनि उनले जानकारी गराए ।
उद्योग समितिले उदयपुर सिमेन्ट उद्योगलाई अपडेट गर्नको लागि अर्थ मन्त्रालयमा ४० करोड रुपैयाँ बजेट माग गरेको छ । उक्त रकम खर्च गरेर उद्योगको स्तरोन्नति गरे झण्डै १० अर्ब रुपैयाँ राज्यको सम्पत्ति बचाउन सकिने बस्नेत बताउँछन् ।
‘स्तरोन्नति गरी उद्योगलाई पूर्ण रूपमा सञ्चालन गरी दैनिक १३ हजार बोरा उत्पादन गर्न सकेमा लागत घट्न गई प्रतिस्पर्धी क्षमता पनि बढ्थ्यो, कर्मचारीको दायित्व उद्योग आफैले बहन गर्दै थप लगानी समेत फिर्ता गर्न सकिन्थ्यो,’ उनले भने । उनका अनुसार उक्त उद्योग घाटामा सञ्चालन भइरहेको छ ।
यस्तै, हेटौंडा सिमेन्ट उद्योगको पनि अवस्था नाजुक बन्दै गएको हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक वसन्त कुमार पाण्डेले जानकारी दिए । उनका अनुसार उक्त उद्योगबाट दिनहुँ उत्पादकत्व क्षमता घट्दै गएको छ ।
‘हेटौंडा सिमेन्ट उद्योगको प्राविधिक अवस्था राम्रो छैन, यसमा ४० वर्ष पुरानो प्रविधिको प्रयोग भएको छ, हाल उद्योगमा कोइला चुनढुंगा लगायत आवश्यक कच्चा पदार्थको अभावका कारण उद्योग बन्द छ । दैनिक खर्च टार्न समेत मुस्किल छ,’ उनले भने । प्रतिबोरा ८ सयमा सिमेन्ट उत्पादन गरेर साढे ६ सयमा बेच्नु पर्ने अवस्था रहेको पाण्डे बताउँछन् ।
नेपाल सरकारले हेटौंडा सिमेन्ट उद्योग स्थापनाकालमा एशियाली विकास बैंकबाट लिएको कुल ऋण ७१ करोड ८८ लाख ८३ हजार रुपैयाँमध्ये हालसम्म सावा ब्याज गरी १ अर्ब ३० करोड २० लाख भुक्तानी भइसकेका छ । तर पनि आर्थिक वर्ष २०७९/८० को अन्तिमसम्ममा अझै १२ करोड सावा र ३४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।
पाण्डेले उद्योगबाट वार्षिक ५२ लाख बोरा सिमेन्ट उत्पादन गर्न सकिने क्षमता रहेकोमा गत आर्थिक वर्षमा ९ लाख ३७ हजार १ सय मात्र ३८ बोरामात्र सिमेन्ट बिक्री भएको बताए । उक्त उद्योगबाट चालु आर्थिक वर्ष २०८०/८१ को कार्तिकसम्ममा १ लाख ५७ हजार बोरा सिमेन्ट बिक्री भएको छ ।
पाण्डेले सिमेन्टको मागमा ८० प्रतिशत कमि आएको बताउँदै उद्योग चलाए पनि घाटा नचलाए पनि घाटा रहेको बताए । हेटौंडा उद्योग बचाएर सञ्चालन गर्नुपर्ने छ भने उद्योग सञ्चालनको मोडल पनि परिवर्तन गर्नुपर्ने पाण्डेको भनाई छ ।
उनका अनुसार यसको मोडल र मेसिन परिवर्तन गर्नको लागि एक अर्ब ६० करोडको रुपैयाँ आवश्यकता पर्छ ।
बन्द हुने अवस्थामा पुगेका यी उद्योग सञ्चालनको लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत नपाएको उद्योगका सञ्चालक समितिका पदाधिकारीहरुको गुनासो छ । सांसद महेश बर्तौलाले उद्योग चलाउने ज्ञान पदाधिकारीहरूलाई नहुँदा पनि उद्योग समस्यामा पर्ने गरेको बताए । उद्योगलाई सहजिकरणको वातावरण बनाएर उपयुक्त नीति नियम बनाउनु पर्नेमा उनको जोड छ ।