
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको वैदेशिक रोजगरमा रहेका नेपालीलाई निष्काशन गरिएको शेयर बाँडफाँड सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको जारी पुँजी सत्तरी करोड रुपैयाँ मध्ये २० प्रतिशत अर्थात् चौध करोड रकम बराबरको चौध लाख कित्ता साधारण शेयर सर्वसाधारणलाई छुट्टयाएको थियो ।
उक्त शेयर मध्येको १० प्रतिशत अर्थात एक लाख ४० हजार कित्ता शेयर प्रति शेयर एक सयका दरले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि कात्तिक १० गते देखि २४ गते सम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।
सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी निष्काशित शेयरहरुको आज बिहीबार बिहान १० बजे बजे बाँडफाँड सम्पन्न भयो । एक लाख ४० हजार कित्ता शेयर खरिदका लागि ३१ हजार एक सय ९६ जना आवेदकबाट आवेदन भएको थियो । कूल ३१ हजार एक सय ९४ जना आवेदकहरुबाट सात लाख २३ हजार ४० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएको थियो ।
निष्काशन गरिएको धितोपत्र भन्दा अधिक धितोपत्रको लागि माग भएको र प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ता धितोपत्र बाँडफाँड गर्न अपुग हुने हुँदा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम गोलाप्रथाको माध्यमबाट १४ हजार आवेदनकर्ता छनौट गरी न्यूनतम १० कित्ताका दरले कूल एक लाख ४० हजार कित्ता धितोपत्र बाँडफाँड गरिएको हो ।