
काठमाडौं । सार्वजनिक संस्थानमा आमसर्वसाधारणको लगानीसमेत भित्र्याउने प्रयासमा रहेको नेपाल विद्युत् प्राधिकरणले २५० रुपियाँ प्रतिकित्ता सेयर मूल्यमा साधारण सेयर जारी गर्ने तयारी भएको जनाएको छ । प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको र यसले संस्थाका वित्तीय स्वस्थ उच्चस्तरको र उच्च जोखिम वहन गर्ने क्षमता रहेको देखाउँछ । यसले गर्दा लगानी अत्यधिक लाभदायक हुने देखाउँछ । अघिल्लो वर्ष पनि सोही रेटिङ पाएको प्राधिकरणले यस वर्षका लागि पनि इक्रा नेपाल लि. ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘ईक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ ।
‘डबल ए प्लस’ रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । ‘डबल ए प्लस’ रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ । प्राधिकरणले तेस्रो वित्तीय पुनर्संरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरिसकेको छ । प्राधिकरणको चुक्ता पुँजी करिब तीन खर्ब रुपियाँ कायम गरी त्यसको १० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरी करिब ६० अर्ब रुपियाँ बराबरको प्राथमिक सेयर सर्वसाधारणलाई निष्कासनको प्रस्ताव गरिएको छ ।
प्राधिकरणको सेयरको प्रतिकित्ता किताबी मूल्य करिब १२५ रुपियाँ कायम गर्ने र त्यसमा त्यति नै रकम प्रिमियम थप गरी सेयर निष्कासनको प्रस्ताव गरिएको प्राधिकरणले जनाएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले संस्थाको क्रेडिट रेटिङ भइसकेकाले सरकारबाट स्वीकृति पाउनसाथ सेयर निष्कासनको प्रव्रिmया अगाडि बढाउन सकिने बताउनुभयो । क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा सङ्गठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ । यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने साङ्केतिक सूचकका रूपमा राय दिइन्छ ।
वद्युत् उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपर्दो र सर्वसुलभ गरी विद्युत् आपूर्तिको समुचित व्यवस्था गर्न सरकारको पूर्ण स्वामित्वमा प्राधिकरण स्थापना गरिएको हो । प्राधिकरणले देशभित्र विद्युत् उत्पादन, प्रसारण र वितरणका अतिरिक्त आन्तरिक तथा सीमापार विद्युत् व्यापार पनि गरिरहेको छ । घिसिङले सार्वजनिक निकायमध्ये प्राधिकरणले ‘डबल ए प्लस क्रेडिट रेटिङ’ पाएकाले संस्थामा वित्तीय दायित्व वहन गर्न सक्ने उच्च तहको सुरक्षित क्षमता देखिएको बताए । ‘क्रेडिट रेटिङबाट संस्थाको वित्तीय स्वास्थ्य राम्रो देखिएको छ, ऋण तिर्न सक्ने क्षमतामा सक्षमता देखिएको छ । हरेक वर्ष हुने विद्युत् निर्यात, आन्तरिक खपत वृद्धि तथा प्रणालीको चुहावट नियन्त्रणमा हासिल भइरहेका सफलताले संस्थाको नाफा बढ्दै जाने छ’, घिसिङले भने, ‘विद्युत् उत्पादनतर्फका आयोजना निर्माण र विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तारका लागि ठुलो पुँजी आवश्यक पर्ने छ, यसका लागि संस्थाले कमाएको नाफा र सेयर निष्कासनबाट प्राप्त हुने रकमबाट लगानीको खाडल पूरा गर्ने योजना बनाएका छौँ ।’
प्राधिकरणले स्वदेशी तथा विदेशी लगाीकर्ताले निर्माण गर्ने जलविद्युत् आयोजनासँग दीर्घकालीन विद्युत् खरिद सम्झौता (पिपिए) गरिहेको छ । क्रेडिट रेटिङको नतिजाले त्यस्ता आयोजनाको रकम भुक्तानी गर्न प्राधिकरणसँग उच्चस्तरको वित्तीय क्षमता रहेकाले लगानी जोखिम नरहेको देखाएको छ । प्रसारण तथा वितरण प्रणाली सुधार तथा विस्तारका लागि गरिएको पुँजी प्रतिबद्धताले प्राधिकरणलाई अल्कालीन रूपमा संस्थाको नगद प्रवाहमा चाप पार्न सक्ने ईक्रा नेपालले उल्लेख गरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ करोड रुपियाँको खुद नाफाको प्रक्षेपण गरेको छ । गोरखापत्र दैनिकबाट ।