काठमाडौं । ‘जमजम इलेक्ट्रोनिक्स’को नाममा करिब ५० लाख रुपैयाँ बराबरको ठगी भएको खुलेको छ । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाट्स एप मा जमजम इलेक्ट्रोनिक्समार्फत पुरस्कृत भएको भन्दै कस्टम क्लियरेन्सका लागि रकम मागेर ठगी गरेको खुलेको हो ।
उक्त ठगी धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले करिब ५० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साका ३० वर्षिय राजकुमार पण्डित र रौतहटका २१ वर्षिय उमेश कुमार यादव रहेका छन् ।
उनीहरुले सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाट्स एप मा जमजम इलेक्ट्रोनिक्समार्फत पुरस्कृत भएको भन्दै कस्टम क्लियरेन्सका लागि रकम मागेर ठगी गरेको उजुरी परेको थियो । उनीहरुले पीडित महिलाहरुलाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाइ ठगी गरेको उजुरी परेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
यसबारे अनुसन्धानका क्रममा ब्युरोको टोलीले ललितपुरको कुपण्डोल गुसिङ्गालबाट दुई जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । उनीहरुलाई विद्युतीय माध्यम सम्बद्ध ठगी कसुरमा काठमाडौं जिल्ला अदालतको गत भदौ ५ गतेको आदेशले ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिँदै छ ।
ब्युरोका अनुसार प्रकाउ परेकाहरुबाट कूल ४९ लाख ९५ हजार रुपैयाँसहित १८३ थान सिमकार्ड, १२ वटा एटीएम कार्ड र एक थान राउटर लगायतका सामान बरामद गरिएको छ ।