
काठमाडौं । नेपालमा ६० वर्षअघि देखिको बजेटको बेरुजु फर्स्यौट हुन बाँकी रहेको कार्यबहाक महालेखा परीक्षक महेश्वर काफ्लेले बताएका छन् ।
नेपालमा २०२० सालबाट लेखा परीक्षण प्रतिवेदन तयार पार्ने काम सुरु भएको र सोही बेलादेखिको बेरुजु फस्र्यौट हुन बाँकी रहेको उनले बताए ।
आइतबार ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आन्तरिक लेखा परीक्षणमा नै सबै बेरुजु फस्र्याैट हुनुपर्नेमा वर्षौंदेखि सो काम नहुनु मुलुकको निम्ति भयावह अवस्था भएको उल्लेख गरे ।
‘जिम्मेवारी पाएकाहरुले जिम्मेवारी पूरा नगर्दा देशको अवस्था भयावह छ । देशको बजेट १५/१६ खर्व हुन्छ । कारबाही गरेर टुंगो लगाउनुपर्ने बेरुजु नौं खर्ब छ । बेरुजुमा हेर्याे भने २० साल देखिको बेरुजु पनि बाँकि नै छ’, उनले भने ।
महालेखा परीक्षकको कार्यालयको पछिल्लो प्रतिवेदनअनुसार नौ खर्ब बेरूजु रहेको र त्यो वर्षौदेखिको भएको उनले बताए ।
कार्यवहाक महालेखा परीक्षक काफ्लेले जिम्मेवार निकायको गैरजिम्मेवारपूर्ण गतिविधिका कारण मुलुकमा बेरुजुको अवस्था भयावह बन्दै गएको उनले बताए ।
काफ्लेले महालेखा परीक्षकको कार्यालयमा अडिट गर्ने जनशक्तिको अभाव रहेको बताए । देशभरका कार्यालयहरुको अडिट गर्नका लागि करिव ४ सय जति मात्रै जनशक्ति रहेकाले आफूहरुले रिस्क बेसिस अडिटको काम मात्रै गर्नुपर्ने अवस्था रहेको उनले बताए ।