
कुनमिङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र दक्षिण एसियाबीचको पुलको रूपमा नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका छन् ।
चीनको कुन्मिङमा आयोजित १६औँ चीन–दक्षिण एसिया व्यापार मञ्चको अध्यक्षको रूपमा समेत सम्बोधन गर्दै अध्यक्ष ढकालले चीन र दक्षिण एसियाली क्षेत्र बिच बृहत्तर सहयोगका लागि थप सहकार्य तथा साझेदारी सुदृढ गर्नु पर्ने बताए ।
विश्व परिदृश्यमा देखिएका जटिलतालाई सामना गर्दै अघि बढ्न क्षेत्रीय तथा उपक्षेत्रीय अन्तर निर्भरतालाई थप बलियो बनाउनुपर्ने ढकालले बताएका छन् । साझा आर्थिक लाभ र आपसी लगानी वृद्धिमा आधारित सहकार्यले मात्र अहिलेका चुनौतीहरूलाई समाधान गर्न सकिने ढकालको भनाईं छ ।
अध्यक्ष ढकालले लगानीका लागि नयाँ क्षेत्र पहिचान गर्ने, पर्यटन प्रवर्द्धन, आपसी व्यापार अभिवृद्धि र औद्योगिक साझेदारीलाई थप सुदृढीकरणका लागि समेत आह्वान गरेका छन् ।
दक्षिण एसियाली क्षेत्रमा बजारको पर्याप्त सम्भावना रहे पनि कमजोर यातायात तथा आपूर्ति पूर्वाधार र व्यापार सहजीकरण नहुँदा आर्थिक वृद्धि प्रभावित भएको उनको भनाई थियो ।
दक्षिण एसियाको जनसाङ्ख्यिक लाभांश उपयोग गर्ने तथा प्रचुर प्राकृतिक स्रोतको उपयोग गर्न पनि चीन र दक्षिण एसियाली क्षेत्रले ढिलाइ गर्न नहुने उनले बताए । यसबाट दक्षिण एसियाली मुलुकहरू र चीनबिचको अन्तर क्षेत्रीय लगानी प्रवाह र व्यापार बढाउन सकिने पनि अध्यक्ष ढकालले उल्लेख गरेका छन् ।
डिजिटल अर्थतन्त्रमा एकाकार हुने तथा आपूर्ति र औद्योगिक श्रृङ्खलाहरुको साझेदारी, कृषि, पर्यटन, नवीकरणीय ऊर्जा, खानी, पूर्वाधार, आइसिटी, जडीबुटी र औषधि उत्पादन लगायतका महत्त्वपूर्ण क्षेत्रहरूमा चीनको विशेषज्ञतालाई प्रविधि र लगानीको हस्तान्तरणबाट नेपालसहित दक्षिण एसियाले लाभ लिन सक्ने अध्यक्ष ढकालले उल्लेख गरेका थिए ।
दक्षिण एसिया र चीनबिचको आर्थिक साझेदारी बढाउन उद्योग वाणिज्य महासंघको प्रतिबद्धता दोहोर्याउँदै ढकालले नेपालमा रहेका लगानी अवसरहरूको उपयोग गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
मध्यम वर्गीय जनसङ्ख्याको वृद्धि, बहुराष्ट्रिय कम्पनीहरूले गरेको उच्च नाफा र चीन तथा भारतका बजारसम्मको सहज पहुँचले लगानीकर्ताहरूका लागि नेपाल आकर्षक लगानी गन्तव्य रहेको ढकालले बताए ।
चीन–दक्षिण एसिया व्यापार मञ्चले चीन, दक्षिण एसिया र नेपालबिचको आर्थिक सम्बन्धलाई प्रगाढ बनाउन, व्यवसायीक संस्था र सरकारी निकायहरूबिचको सम्बन्ध प्रगाढ बनाउन गतिशील माध्यमको रूपमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।