बैंकहरू साहुजी मात्रै बन्नु हुँदैन, नेपालमा भोकमरी लाग्न सक्छ : केपी ओली

<p>काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरु साहु मात्रै नभएर उद्यमीको सारथी बन्न सक्नुपर्ने बताएका छन् । नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था, समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा ओलीले अर्थतन्त्र संकटमा रहेको बताएका हुन् । ओलीले भने, ‘अर्थतन्त्रमा संकट छ तर माथि उठ्ने र अगाडि [&hellip;]</p>

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरु साहु मात्रै नभएर उद्यमीको सारथी बन्न सक्नुपर्ने बताएका छन् ।

नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था, समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा ओलीले अर्थतन्त्र संकटमा रहेको बताएका हुन् ।

ओलीले भने, ‘अर्थतन्त्रमा संकट छ तर माथि उठ्ने र अगाडि बढ्ने कुनै तयारी छैन । सरकारको व्यवस्थापन कमजोर बन्यो ।’
सरकारले कुन व्यवसायीलाई कसरी समस्यामा पार्ने भन्ने रणनीति बनाइरहेको ओलीको भनाई छ ।

‘समस्या परेको बेला सरकारले सहयोग गर्ने हो, संकटबाट बच्न सरकारले हातेमालो गर्ने हो । तर, यहाँ त्यस्तो छैन’, ओलीले भने ।

सरकारले ऋण तिर्न नसक्ने अवस्थामा पुगेका उद्योगलाई पनि जोगाउने गरी नीति बनाउनुपर्नेमा त्यसतर्फ ध्यानै नदिएको ओलीले बताए ।

‘ऋण तिर्न नसक्ने उद्योगलाई थप ऋण दिएर सहज वातावरण सिर्जना गर्ने हो । सरकारले पनि त्यस्ता नीति ल्याउने हो । तर, सरकारको त्यता पट्टी ध्यान छैन’, ओलीले भने ।

नेपालमा जतिबेला पनि जस्तोसुकै संकट आउन सक्ने ओलीले बताए । त्यसको प्रतिवाद गर्न सक्ने तयारी गर्नुपर्ने र त्यसका लागि कृषी उत्पादनमा ध्यान दिनुपर्ने उनको भनाई छ ।

नेपालमा राम्रो व्यवस्थापन र तयारी गर्न नसक्दा भोकमरी आउन सक्ने ओलीले बताए ।

‘व्यवसायिक वातावरण निर्माण गर्न सकिएन भने नेपालमा भोकमरी हुन सक्छ । आधारभुत आवश्यकता पाउनै मुस्किल हुन सक्छ । निजी क्षेत्रमा धेरै सम्भावना छ तर अनुकलता प्रदान गरिएन’, ओलीले भने ।

यी सबै समस्याको समाधानको लागि कृषि उत्पादन बढाउनेतर्फ ध्यान दिनुपर्ने ओलीले बताए ।

Share News