
काठमाडौं । उद्योगी एवं एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागका प्रमुख मोतीलाल दुगडले देशभरका उद्योगी व्यवासायीहरु त्रासमा रहेको बताएका छन् ।
नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था, समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा उनले व्यवसायीहरु पीडामा रहेको बताएका हुन् ।
व्यवसायीहरुलाई सरकारले ज्वाइँ सरह व्यवहार गर्नुपर्ने उनले बताएका छन् ।
‘काण्ड नै काण्ड आइरहेको छ । कुन बेला को फस्ने हो थाहा छैन । यी काण्डले गर्दा प्रचण्ड हो की प्रकाण्ड सरकार हो छुट्याउन गाह्रो छ’, दुगडले भने ।
पछिल्ला दिनका सरकारले कुरा सुन्न छाडेको र व्यवसायीको महत्व नबुझेको उनले बताए ।
‘देशको कुल राजश्वमा ७० प्रतिशतसम्म निजी क्षेत्रको योगदान छ । तर, सरकारले निजी क्षेत्रको महत्व बुझेन’, उनले भने ।
केपी शर्मा ओली नेतृत्वको सरकारका पालमा धेरै काम भएको तर, अहिले भने कामै हुन नसकेको दुगडको भनाई छ ।
‘उद्योगी व्यवसायीलाई दण्डित गरेर देश चल्न सक्दैन । सरकार निरंकुशता ल्याउन खोजिरहेको छ । मन्दीको समयमै व्यवसायीको मनोबल गिराउने काम भएको छ । अब त अति भयो, यो देशलाई क्षति भयो’, दुगडले भने ।