
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल विकासक्रममै रहेकाले देशमा धेरै कुरा गर्न बाँकी रहेको बताएका छन् ।
राष्ट्र निर्माण मञ्च नेपालले आयोजना गरेको उद्दमशील युवा सृजनशील युवा बिषयक अन्तर्क्रियामा बोल्दै अर्थमन्त्री डा. महतले भने, ‘यहाँ धेरै अवसर छन्, यो अवसर हेर्ने सुष्म आँखा चाहियो ।’
विदेश जाने बित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवाहरु मुक्त हुनुपर्ने उनले बताए ।
‘युवाले यहाँ नै अवसर खोज्न थाले भने विदेशभन्दा यहाँ नै राम्रो भविष्य हुन्छ । विदेशमा जति नै सुविधा भए पनि त्यहाँ खुशी छैन’ मन्त्री डा. महतले भने, ‘त्यसैले नेपालमा प्राप्त अवसरलाई ग्रहण गर्न अनुरोध गर्छु ।’
‘हामीकहाँ अवसर खोज्दा हट मेन्टालिटी छ । एउटाले अवसर देख्यो, फाइदा उठायो, म पनि त्यही गर्नुपर्ने, अर्कोले पनि त्यही गर्ने अर्थात् सबै त्यसैमा लाग्छन’ मन्त्री डा. महतले भने, ‘त्यसो गर्नु हुँदैन, अर्को अवसर खोज्नुपर्छ ।’
सूचना प्रविधिले देशमै प्रशस्त अवसर सिर्जना गरेको र त्यसको उपयोग गर्न सक्नुपर्ने उनले बताए ।
‘हरेक उत्पादन कसरी विदेशमा लैजाने, समुन्द्र पार कसरी पु¥याउने लगायतका समस्या छन्’ मन्त्री डा. महतले भने, ‘प्रविधिले गर्दा मार्केटिङ सजिलो भएको छ । डिजिटल प्लेटफर्म उपयोग गरेर एउटा कुरामा बसेर आफ्नो उत्पादन संसारको जुनसुकै ठाउँमा बेच्न सकिन्छ । शुन्य लागतमा बेच्ने ठाउँमा पनि तपाईं जोडिन सक्नुहुन्छ । यो हाम्रा लागि अवसर हो ।’
मन्त्री डा. महतले भने, ‘देशबाहिर सुनको श्रीलंका छैन, विदेश जाने तयारीमा रहनु भएका युवाहरु जसले पूर्ण छात्रवृत्ति पाउनु भएको छैन, उहाँहरु अप्ठ्यारोमा पर्नुभएको छ । पढाइ पूरा नहुने परिस्थिति, आर्थिक स्रोत जुटाउन नसकिने परिस्थिति र लिगल स्टाटस मेन्टेनको परिस्थितिमा उनीहरु गुज्रिएका छन् । त्यहाँबाट न निस्कन सकिन्छ, न छोड्न सकिन्छ । यो प्रतिशत धेरै ठूलो छ । त्यसैले यहाँ भएका धेरै अवसरहरुको सदुपयोग गरौं ।’