काठमाडौं । पटक/पटक म्याद थप गर्दा समेत राष्ट्रिय गौरवका आयोजनाको प्रगति न्यून भएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले असन्तुष्टी जनाएका छन् ।
वर्षाै पहिले निर्माणका काम थालिएका योजनाहरु पटक/पटक म्याद थप्दा पनि नसकिदा नागरिकमा गलत संदेश गएको भन्दै मन्त्री ज्वालाले यो वा त्यो बहानामा निर्माण कार्य ढिला नगर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।
राष्ट्रिय गौरवका आयोजना, रुपान्तरणकारी योजना र अन्य महत्वपूर्ण योजनाहरुलाई युद्धस्तरमा काम गर्न समेत उनले निर्देशन दिए ।
‘अन्धाधुन्ध काम गरेर मात्र हुँदैन, शक्तिशाली सिंहजस्तै दुई कदम अगाडी बढ्ने र एक पटक समिक्षा गर्ने नीति लिएर निर्माण कार्यमा लाग्न जरुरी छ’ मातहतका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री ज्वालाले भने, ‘प्रत्येक चौमासिकमा योजनाहरुको अनिवार्य समिक्षा गर्ने चलन बसालौ, त्यसले आयोजनामा आएका समस्याको पहिचान र समाधानको उपाय दिन्छ ।’
मन्त्री ज्वालाले केही आयोजनाको काम प्रति असन्तुष्टी समेत जनाएका छन । नेपाली सेनाको ब्यवथापनमा निर्माणधिन काठमाडौं–तराई मधेश फास्ट ट्रयाकको काम सोचेअनुसार नभएपछि मन्त्री ज्वालाले असन्तुष्टी जनाएका हुन् ।
‘नेपाली सेनाबाट सडक निर्माणका क्षेत्रमा प्रसंसनीय कामहरु भइरहेका छन् तर फास्ट ट्रयाकको काम किन फास्टरुपमा हुन सकेन’ मन्त्री ज्वालाले भने ।
राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति गत आर्थिक बर्षभन्दा बढी भएको छ । पूर्णरुपमा सन्तोषजनक नभएपनि अघिल्लो आवभन्दा यस आवको प्रगति राम्रो रहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।
२०७३ सालमा सुरु भएको बेनी जोमसोम कोरोला योजनाको भौतिक प्रगति ७३ प्रतिशत रहेको छ । १० अर्ब ५७ करोड रुपैयाँको सो योजनाको वित्तिय प्रगति भने ७० प्रतिशत मात्र रहेको मन्त्रालयले जनाएको छ ।
२०६९ सालमा सुरु भएको हिल्सा सिमिकोट सडक योजनाको हालसम्मको भौतिक प्रगति २४ प्रतिशत मात्र रहेको छ । २०८३ मा सक्नुपर्ने ६ अर्ब ६६ करोड रुपैयाँ बराबरको सो आयोजनाको वित्तिय प्रगति भने २०.२१ प्रतिशत मात्रै रहेको छ ।
२०६६ सालमा निर्माण शुरु भएको उत्तर दक्षिाण राजमार्ग (कालीगण्डकी कारिडो– गैडांकोट राम्दी मालढुंगा खण्ड) को काम ४५ प्रतिशत मात्र सम्पन्न भएको छ । २०८४ मा सक्नुपर्ने उक्त परियोजनाको कुल लागत ८५ अर्ब २२ करोड रहेकोमा हालसम्म ९ अर्ब ९५ करोड रुपैयाँ मात्र खर्च भएको छ ।
२०६५ सालमा निर्माण शुरु भएको उक्त दक्षिण (कोशी) सडक योजना खाँदवारी किमाथांका परियोजनाको भौतिक प्रगति ४२ प्रतिशत मात्रै रहेको छ । २०८३ सालमा सक्नेगरी ११ अर्ब ९३ करोड रुपैयाँमा सुरु भएको उक्त परियोजनाको वित्तिय प्रगति पनि ४२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
चालू आर्थिक वर्षमा सक्नुपर्ने हुलाकी राजमार्गको भौतिक प्रगति ९१ प्रतिशत मात्रै रहेको छ । २०६६ सालमा ६५ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माणको शुरु गरिएको सो आयोजनाको वित्तिय प्रगति समेत ९१ प्रतिशत हाराहारीमा रहेको छ ।
२०६४ सालमा निर्माण शुरु भएको पुष्पलाल (मध्य पहाडी) राजमार्गको भौतिक प्रगति ७२ प्रतिशत हाराहारीमा रहेको छ । निर्माण शुरु भएको १६ वर्षमा उक्त परियोजनाले गति लिन सकेको छैन ।
२०७९ सालमा निर्माण सक्ने गरी ८४ अर्ब ३३ करोड रुपैयाँ बराबरको लागतमा शुरु गरिएको उक्त आयोजना निर्माण सम्पन्न गर्न सरकारले २०८४÷०८५ सालसम्मको समय दिएको छ ।