काठमाडौं । सरकारले सातै प्रदेशमा लजिष्टिक हब निर्माणको अबधारणा बनाएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले सातै प्रदेशमा लजिष्टिक हब निर्माणको अघि बढाएको हो ।
सुरुवाती चरणमा चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहको आधा भागलाई लजिष्टिक हब बनाएको समितिले अन्य स्थानमा समेत निर्माणको तयारी थालेको हो ।
समितिका कार्यकारी निर्देशक आशिष गजुरेल चालु आर्थिक वर्ष भित्र सातै प्रदेशमा निर्माण गरिने लजिष्टिक हब को अध्ययन सकिने बताउँछन् ।
‘हामीले यस वर्षभित्र सातै प्रदेशमा निर्माण गरिने लजिष्टिक हबको अध्ययन सक्छौं, लागत अनुमान र जग्गा प्राप्ति लगायतका काम सकेर आगामी आर्थिक वर्षभित्र निर्माणको काम सुरु गरिसक्ने हाम्रो तयारी छ,’ उनले भने ।
चोभार पाइलट प्रोजेक्ट
समितिले चोभारको बन्दरगाहमा निर्माण गरेको लजिष्टिक हबलाई पाइलट प्रोजेक्टका रुपमा अघि सारेको छ । बन्दरगाहलाई छुट्याएर एकातिर भन्सार प्रयोजन र अर्को तर्फ लजिष्टिक हब बनाइएको छ । लजिष्टिक हबमा समितिले मालबाहक सवारी साधनको सुरक्षित पार्किङ, गोदाम प्रयोग, सानो लेबलिङ तथा प्रोसेसिङका लागि स्थान उपलब्ध गराएको छ ।
समितिले उपलब्ध गराएको स्थानमा व्यवसायीहरुले तोकिएको शुल्क भुक्तानी गरेर पल्टी ९मालबाहक ट्रक बाट सरसाना गाडीमा सामान राख्ने०, प्याकेजिङ तथा लेबलिङ र भण्डारण लगायतका काम गर्न सक्नेछन् ।
ठूलो रकम खर्च गरेर निर्माण गरिएकोे चोभार सुक्खा बन्दरगाह पूर्ण रुपमा सञ्चालनमा आउन नसकेपछि समितिले बन्दरगाहको आधा भागलाई लजिष्टिक हब का रुपमा सञ्चालन गरेको हो ।

‘हामीले चोभारमा यत्रो बन्दरगाह बनाएका छौं । तर, यसलाई भनेअनुसार उपयोग गर्न सकेनौं, यो नयाँ योजना भएका कारण पूर्ण रुपमा सञ्चालनमा आउन केही समय लाग्यो’, उनले भने, ‘बन्दरगाह पूर्ण रुपमा सञ्चालनमा नआएपछि विकल्पको रुपमा लजिष्टिक हब बनाएका हौँ ।’
उनले संसारभर अहिले बन्दरगाहसँगै लजिष्टिक हबको अवधारणा ल्याएको भन्दै नेपालले पनि सोही अवधारणको फलो गरेको बताए ।
‘विभिन्न ठाउँमा ठूला गाडी तथा ट्रेनबाट सामानहरु आउँछन्, त्यसलाई स(साना गाडीहरुमा सारेर गन्तव्यसम्म पुर्याउने गरिन्छ, त्यसको ह्यान्डलिङ, पूर्वाधार, कोल्ड स्टोरेज लगायत सबै कुराकोे व्यवस्थापनका लागि उनीहरुले लजिष्टिक्स हब बनाएका हुन्छन्, हामीले पनि सातै प्रदेशमा सात वटा लजिष्टि हब निर्माण गर्नेको तयारी थालेका हौं, जसअनुसार अहिले अध्ययनको काम भैरहेको छ,’ उनले भने ।
वीरगन्ज लगायत अन्य भन्सार नाकामा थन्किएका गाडीहरुले पछिल्लो समय व्यवसायीहरु चोभार सुक्खा बन्दरगाहमा ल्याएर पार्किङ गर्दै आएका छन् । भन्सार शुल्क भुक्तानी नगर्दासम्म आयातिक सामग्रीहरु निश्चीत शुल्क तिरेर व्यवसायीहरुले पार्किङ गरिरहेका हुन् ।
सडकमा गाडी रोक्दा लजिष्टिक हब सञ्चालन भएन
समितिले चोभार बन्दरगाहमा छुट्टाएको लजिष्टिक हब अहिले पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । काठमाडौं उपत्यकाकै रिङ्गरोडदेखि अन्य सडकमै मालबाहक ट्रककोे पार्किङ, सामान पल्टी गर्ने लगायतका काम गर्न छुट दिँदा बन्दरगाह पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको उनको बुझाइ छ ।
‘सडकमा निजी सवारी साधन पार्किङ गर्दा जरिवाना लगाइन्छ, तर मालबाहक साधन निर्वाध रुपमा सडकमै रोकेर पल्टी गर्न दिइएको छ, हामीले त्यसलाई कारवाही गर्न ट्राफिक प्रहरीसँग समन्वय गर्दै काठमाडौं र ललितपुर महानगरलाई पत्राचार गर्नेदेखि पत्रपत्रिकामा सूचना प्रकाशन गर्नेसम्मका कामहरु गर्यौं’, उनले भने, ‘तर, उताबाट अहिलेसम्म कुनै पहल भएको छैन, अब छिट्टै होला भन्ने आश हो, सरकारले त्यसलाई नियमन गर्न सक्यो भने नेपालमा लजिष्टिक हब राम्रोसँग चल्छ ।’
सडकमै सवारी साधन पार्किङ गर्दा पूर्वाधार नै बिग्रिएको कार्यकारी निर्देशक गजुरेलको भनाइ छ ।