
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरूलाई ऋण दुरूपयोगको आरोप लगाएर कारबाही गर्दा आर्थिक क्षेत्रमा दुर्घटना निम्तने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित पदाधिकारीको १०० दिनको उपलब्धी सार्वजनिक कार्यक्रममा ढकालले व्यवसायीलाई अनावश्यक कारबाहीका कुरा नगर्न आग्रह गरेका हुन् ।
अहिलेको अवस्थामा निजी क्षेत्रलाई ऋण मिलान गर्न समय दिनुपर्ने अध्यक्ष ढकालको भनाई थियो ।
‘व्यवसायीले ऋण दुरूपयोग गरेको र यसमा अध्ययन गरेर कारबाही गर्ने भन्ने कुरा राष्ट्र बैंकले गरेको छ । तर, यसले आर्थिक क्षेत्रमा ठूलो दुर्घटना निम्तिन्छ’, उनले भने, ‘निजी क्षेत्रलाई ऋण मिलान गर्न समय दिनुपर्छ ।’
निजी क्षेत्रका स्वार्थका लागि मात्रै राष्ट्र बैंकलाई सुझाव नदिएको भन्दै ढकालले निजी क्षेत्रका सुझाव सुनुवाई नभएको बताए ।
अहिलेको समस्या सबैले गर्दा निम्तिएको पनि ढकालले बताए । यसको समाधान निजी क्षेत्र, राष्ट्र बैंक र सरकार मिलेर गर्नुपर्ने उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकार र नेपाल राष्ट्र बैकले निजी क्षेत्रलाई बेवास्ता गरेको बताएका छन् । बजेट र मौद्रिक नीतिमा निजी श्रेत्रका सुझाव नसमेटिएको उनले बताए ।
‘बजेट र मौद्रिक नीतिमा हाम्रा माग केही मात्र सुनुवाई भए । व्यवसायीका जायज माग सम्बोधन भएनन्’ उनले भने, ‘निजी क्षेत्रलाई सरकारले केही गरेको छ है भन्ने मात्र भएको छ । हामीले आर्थिक रूपान्तरणका कुरालाई सुझाबमा समेटेका थियौं । सम्बोधन भएन ।’