
काठमाडौं । बझाङ्गको साइपाल गाउँपालिकामा खाद्यान्नको चरम अभाव भएको छ । लगातारको वर्षाका कारण गएको पहिरोले सडक अवरुद्धपछि गाउँपालिका भित्र खाद्यान्नको अभाव भएको हो ।
सडक अवरूद्ध भएपछि खाद्यान्न आपूर्तिमा समस्या भएको साइपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहराले बताए । गाउँपालिकाले वर्षनी ठेक्का लगाएर खाद्यन्न नागरिकलाई उपलब्ध गराउँदै आएको थियो ।
यस पटक भने चार सय क्वीन्टल बाटैमा कुहिएको बोहोराले बताए । ‘गाउँपालिकामा गत वर्षदेखि ४ हजार क्विन्टल आयात गर्न सुरुवात गरेका हौं, अघिल्ला वर्षमा ३ हजार क्विन्टलसम्म चामल भित्रिँदै आएको थियो, ४ हजारमध्ये अहिलेसम्म २५ सय क्विन्टल चामल भित्रिएको छ, ४ सय क्विन्टल बाटोमा अलपत्र अवस्थामा छ,’ उनले भने ।
चामल तत्काल पालिकामा ल्याउन नसके खाद्यान्नको चरम अभाव भोग्नुपर्ने अवस्था आएको उनले बताए । गत आर्थिक वर्ष २०७९/८० मा ४ हजार क्विन्टल चामल ल्याउने जिम्मा ठेक्दार देवराज जोशीले पाएका थिए ।
गाउँपालिकाको सबै ठाउँमा यातायातको पहुँच छैन । यातायात पहुँच नपुगेका कारण खाद्यान्नको ढुवानी खच्चड वा मान्छे मार्फत् गर्नु पर्ने अवस्था छ । बर्षाको समयमा खच्चड हिडाउन नसकिने हुँदा ढुवानीमा समस्या हुने गरेको बोहोराले बताए ।
ठेकेदारले ल्याएको खाद्यान्नको ढुवानी खर्च भने सरकारले बेहोर्छ । गाउँमा चामल पुगेपछि प्रति केजी ५२ रुपैयाँका दरले नागरिकले पाउँछन् । पालिकाभित्र करिव ४८० घरधुरी रहेको पनि बोहोराको भनाइ छ ।
‘हाम्रो पालिकामा यातायातको सुविधा छैन, खाद्यान्न बोकेर वा खच्चडबाट ढुवानी गर्नुपर्ने हुन्छ, खाद्यान्न नआइपुगेको कारण समस्या परेको हो, अहिले भएको खाद्यान्न ओल्लोपल्लो घरले पैँचो गरेर चलाउँदै हुनुहुन्छ,’ उनले भने