काठमाडौं । सरकारले पशुपति बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको आइतबारको मन्त्रिस्तरीय निर्णयले पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।
सहकारी विभागले विभागले गत फागुन २९ गते समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । बचतकर्ताको बचत फिर्ता गर्न नसकेको यस सहकारीका सञ्चालकलाई सम्पर्कमा आउन विभिन्न समयमा ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि सहकारी समस्याग्रस्त भएको हो ।
विभागले पशुपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिबी लामालगायत सञ्चालकलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई जेठ १९ गते नै पत्राचार गरिसकेको छ । मन्त्रालयले थप दुुई सहकारी पनि समस्याग्रस्त घोषणा हुने प्रक्रियामा रहेको बताएको छ ।