काठमाडौं । पशुहरूमा कृत्रिम गर्भाधान गराउने क्रम बढ्दो रहेको छ । विगतका वर्षहरूको तुलनामा गत आर्थिक वर्षमा कृत्रिम गर्भाधान गराउने पशुको सङ्ख्या बढेको हो ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षमा ५९ हजार ५७ पशुमा कृत्रिम गर्भाधान गराइएको छ । कार्यालयको तथ्याङ्कअनुसार ५४ हजार ५०३ गाई, ४ हजार १५४ भैँसी र ४ सय बाख्रामा कृत्रिम गर्भाधान गराइएको हो । जिल्लामा ९३ हजार १८२ गाई र ७२ हजार ९७८ भैँसी पालिएको तथ्याङ्क रहेको छ । बाख्रा ३ लाख १२ हजार पालिएको छ ।
कार्यालयका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यका अनुसार कृत्रिम गर्भाधान गराइएका गाईमा ५६.१२ प्रतिशत र भैँसीमा ८४.०२ प्रतिशत गर्भाधान दर रहेको छ । उनका अनुसार आव २०७८/७९ मा ५८ हजार ६७६ पशुलाई कृत्रिम गर्भाधान गराइएको थियो । आव २०७७/७८ मा ५६ हजार २२१ गाईभैँसीमा कृत्रिम गर्भाधान गराइएको उनले जानकारी दिए ।
गाईमा जर्सी र होलस्टेन एवं भैँसीमा मुर्राको ब्लड लेबलसम्म पुर्याउने उद्देश्यका साथ कृत्रिम गर्भाधान गराउन थालिएको हो । स्थानीय जातका गाईभैँसीमा उत्पादन कम हुने भएकाले कृत्रिम गर्भाधानबाट दूध उत्पादन बढाउन सहयोग पुग्ने गरेको आचार्यले बताए ।
उनका अनुसार कृत्रिम गर्भाधानले नातागोता प्रजनन् रोक्न यो कार्यक्रम सञ्चालन गरिएको हो । कृषकलाई साँढे र राँगो पाल्नुपर्ने बाध्यताबाट हटाउन र सरुवा रोगको खतरा कम गर्न कृत्रिम गर्भाधानले सहयोग गर्ने गरेको उनले बताए ।