फेसबुकमा लेख्नेलाई कारवाही माग, संसदमा बोल्नेलाई छुट

<p>काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘सुन पास गराएको’ भन्दै फेसबुकमा लेख्ने प्रेस चौतारी, नेपालका अध्यक्ष गणेश बस्नेत र त्यसैलाई आधार मानेर समाचार लेख्ने जनबोली डटकमविरुद्ध उजुरी परेको छ । तर गृहमन्त्री श्रेष्ठमाथि सोही आरोप लगाउने सांसदले भने सबै प्रकारले छुट पाएको देखिएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले बस्नेतविरुद्ध [&hellip;]</p>

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘सुन पास गराएको’ भन्दै फेसबुकमा लेख्ने प्रेस चौतारी, नेपालका अध्यक्ष गणेश बस्नेत र त्यसैलाई आधार मानेर समाचार लेख्ने जनबोली डटकमविरुद्ध उजुरी परेको छ । तर गृहमन्त्री श्रेष्ठमाथि सोही आरोप लगाउने सांसदले भने सबै प्रकारले छुट पाएको देखिएको छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले बस्नेतविरुद्ध प्रहरीको साइबर ब्युरो र जनबोली डटकमविरुद्ध प्रेस काउन्सिलमा आजै उजुरी दिएका छन् ।

अध्यक्ष बस्नेतले ’आफुलाई सूचना आएको’ कपोलकल्पित हवाला दिंदै २०८० साल साउन ४ गतेको फेसबुक स्टाटसमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि ‘सुन पास गराएको’ आरोप लगाएका थिए । यस प्रकरणले गृहमन्त्री श्रेष्ठको व्यक्तिगत निष्ठा, आचरण र नैतिकतामाथि सामाजिक संजालमा अतिरन्जित भ्रम सिर्जना गरेको, सुशासन तथा गुणात्मक प्रशासनिक सुधारमा अनवरत लागेको गृह प्रशासन नेतृत्वलाई हिलो छ्याप्ने काम गरेको र गृहमन्त्रीले अगाडि बढाएका कामलाई अवरुद्ध गर्ने नियत बोकेको उजुरीमा उल्लेख छ ।

साथै गृहमन्त्रीलाई इंगित गर्दै “एक रुपैयाँ पनि आम्दानी नभएका सादगी“ व्यक्तिले दैनिक ५० हजार खर्च गर्ने गरेको दाबी समेत बस्नेतले स्टाटसमा गरेका छन् । सल्लाहकार गिरीले आपराधिक मनोवृत्ति राखेर गृहमन्त्रीप्रति झुठो र कपोलकल्पित आरोप निर्माण गर्ने बस्नेतलाई साइबर कानुन अन्तर्गत आवश्यक कार्वाही गर्न साइबर ब्युरोलाई अनुरोध गरेका गरेका छन् ।

त्यस्तै इन्द्रप्रसाद आचार्य सम्पादक/प्रकाशक, सूर्यप्रसाद फुयाल प्रधान सम्पादक र रमण कोइराला प्रबन्ध सम्पादक रहेको जनबोली डटकम नामक जनबोली न्यूज नेटवर्क प्रालिको अनलाइन मिडियाले समेत २०८० साल साउन ४ गते “तौलन नसकिने हालसम्मकै ठुलो परिणाममा सुन बरामद, गृहमन्त्री श्रेष्ठको संलग्नत’’ शीर्षकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध भ्रमपूणर् समाचार सार्वजनिक गरेको थियो । उक्त मिडियाले गणेश बस्नेतको स्टाटसलाई नै हवाला दिएर ’गृहमन्त्री श्रेष्ठले सुन पास गरेको’ ठोकुवा गरेको थियो ।

उक्त मिडियाका जिम्मेवारहरूलाई यस्तो झुठो र भ्रमपूणर् समाचार छापेको कसुरमा तत्काल कानुनको दायरामा ल्याई आवश्यक कार्वाही गर्न अध्यक्ष बालकृष्ण बस्नेतलाई सम्बोधन गर्दै प्रेस काउन्सिल, नेपालमा सल्लाहकार गिरीले उजुरी दिएका हुन् । काउन्सिलले आजै पत्र काटी उक्त मिडियालाई काउन्सिलमा उपस्थित भएर समाचार प्रमाणित गर्न अथवा माफीसहित समाचार हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ ।

सोही समाचारलाई पछ्याउदै राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले करिव एक क्वीन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं संलग्न रहेको आरोप लगाएका छन् । बिहीबार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नाम समेत सो प्रकरणमा मुछेका छन् ।

सांसद भट्टराईले सो प्रकरणमा ठूलाहरु नै संलग्न रहेकाले निष्पक्ष छानविन हुने विश्वास समेत आफूहरुलाई नभएको बताए । उनले सुन तस्करहरुले राज्य संचालनमै हस्तक्षेप गरिरहेको आभास भईरहेको समेत बताए । सांसद भट्टराईले भने-‘हाम्रो देशमा तस्करहरुले राज्य संचालनमा हस्तक्षेप त गरेका छैनन् भन्ने आभास हुन थालेको छ । बाहिर हेर्दा भ्रष्टाचार, अनियमितता सबै अन्त्य हुन थाले जस्तो देखिएको छ । पावरमा भएकाहरु जोडिदा समेत छानविन भएको छैन । जनताको ध्यान एकातिर केन्द्रित गर्ने र अर्कोतर्फ तस्करी मौलाउने अवस्था देखिएको छ । भर्खरै समातिएको करिव एक क्वीन्टल सुनको बारेमा पूर्व सभामुख र गृहमन्त्रीको समेत नाम जोडिएर समाचारहरु आएका छन । सुन भित्रयाउँदा मोटर साईकल र स्कुटरको ब्रेक शु भनेर भन्सार छली भएको छ । यो एक, डेढ महिना यही प्रक्रियाबाट भित्रिएको भन्ने सुनिएको छ । अव निष्पक्ष छानविन हुन्छ भनेर विश्वास गर्ने ठाउँ छैन । यो प्रश्न राख्न चाहन्छु ।’

सांसद भट्टराईको भनाईबारे पछि बोल्ने गृहमन्त्रीको प्रेस सल्लाहकार गिरीले बताए ।

Share News