काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना पारित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सोमबार दिउँसो बसेको योजना आयोगको पूर्ण बैठकले मध्यमकालीन खर्च संरचना र तीनवर्षे मध्यमकालीन खर्च संरचना पास गरेको हो ।
योजना आयोगको निर्णय अनुसार अब मन्त्रिपरिषद् बैठकले बजेट पास गरेपछि अपराह् सवा ४ बजे अर्थमन्त्री डा प्रकाशशरण महतले संसदको संयुक्त बैठकमा बजेट पेश गर्नेछन् ।
अर्थमन्त्री महतले प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गर्दैछन् । बजेट पारित गर्न मन्त्रिपरिसद्काे बैठक सिंहदरबारमा बसिरहेकाे छ ।
राज्यले पछिल्लो समय हासिल गरेको सामाजिक तथा आर्थिक उपलब्धीहरुलाई गुम्न नदिन र आगामी दिनमा थप उपलब्धीहरु हासिल गर्न मद्दत पुग्ने गरी आयोगले मध्यमकालिन खर्च संरचना बनाएको छ । आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ का लागि बनाइएको मध्यमकालिन खर्च संरचनामा आगामी तीन वर्षको कार्यक्रमहरु कस्तो रहने ? ति तीन वर्षको बजेटको आकार कस्तो हुनुपर्छ ? भन्ने विषयहरु समेटिएका छन् ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा योजना आयोगले आवधिक योजनाको आधारमा आगामी तीन वर्षको समष्टिगत वित्त खाका, बजेट तथा कार्यक्रमको खाका र नतिजाा खाका सहितको मध्यमकालीन खर्च संरचना तयार गर्नुपर्ने व्यवस्था रहेको छ ।
आवधिक योजना र वार्षिक बजेटबीच तदाम्यता ल्याउने महत्वपूर्ण औजारको रुपमा मध्यमकालीन खर्च संरचना रहेको छ । यस संरचनामा आगामी आर्थिक वर्षको बजेट अनुमान तथा त्यसपछिका दुई आर्थिक वर्षको प्रक्षेपण गरी तीन आर्थिक वर्षको भक्रीय बजेट प्रस्तुत गरिएको छ ।
मध्यमकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रमलाई एकिकृत रुपमा आयोगले दस्तावेज बनाएको छ ।