काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन दलका शीर्ष नेताको छलफल भइरहेको छ ।
मंगलबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन । तीन दलका शीर्ष नेताको छलफल केही समयअघि बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणलगायत समसामयिक विषयमा कुराकानी हुने सचिवालयले जनाएकोे छ । यस्तै, संवैधानिक परिषद्सम्बन्धी विधेयक र राष्ट्रपति कार्यालयमा अलपत्र बनेको नागरिकता विधेयकको बारेमा तीन नेताबीच छलफल हुने बताइएको छ ।
सोमबार मात्र संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्णको नाम सर्वसम्मत सिफारिस गरेको थियो । उनको नाम अनुमोदन गर्नका लागि संसदीय सुनुवाइ समिति गठन गर्नुपर्ने छ ।