
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री प्रकाश ज्वालाले एक वर्ष पुग्दा पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स) नपाएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोबाइल्स् एशोसिएसन अफ नेपालको सहकार्यमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारी सम्बन्धी छलफलमा बोल्दै आफ्नो लाइसेन्स एक वर्ष पुग्दा पनि नपाएको मन्त्री ज्वालाले बताएका हुन् ।
‘विभागका कर्मचारीलाई लक्षित गर्दै उनले भने, ‘मलाई मन्त्री ज्युको लाइसेन्स बनाइदिनु पर्यो भन्दै हुनुहुन्थ्यो, मैले जुन समयमा लाइसेन्स आउँने हो, त्यही समयमा लिन्छु भने, लाइसेन्स लिनको लागि लामो समयसम्म बस्नु पर्ने बाध्यतालाई कसरी अन्त्य गर्न सकिन्छ, त्यसतर्फ पनि हाम्रो ध्यान केन्द्रित छ ।’
मन्त्री ज्वालाले इम्बोस्ड नम्बरको विषय अनेकौं विवादबाट अगाडि बढिरहेको बताउँदै त्यसलाई कसरी सहज बनाउने भन्ने तर्फ लागेको पनि बताए । ‘प्रिन्ट भइसकेका नम्बर प्लेटलाई खेर जान दिनु पनि भएन, त्यसमा ठूलो रकम खर्च भइसक्यो, त्यसैले नम्बर प्लेट प्रिन्ट भइसकेको अङग्रेजीमा र अब प्रिन्ट गर्नेमा नेपाली पनि राख्ने छौं, भोलिका दिनमा इम्बोस्ड नम्बर नेपालीमा गर्न सक्ने बाटो खोलौं भन्ने निर्णय गरेका छौं,’ उनले भने ।
मन्त्री ज्वालाले सोही क्रममा आगामी आर्थिक वर्ष २०८०/८१ को तयारी र छलफलमा रहेको पनि बताए । उनले पूर्वाधारको विकासमा सरकारले प्राथमिकता दिन आवश्यक रहेको बताएका छन् । ‘हामी आउँदा आउँदै बजेटको चपेटामा परेका छौं, एका तिर बजेटको चपेटा अर्को तिर आर्थिक सङ्कटको चपेटा छ, बजेट राम्रो बनाउनको निमित्त अर्थतन्त्र राम्रो हुनु पर्यो, आर्थिक अवस्था समस्याग्रस्त छ,’ उनले भने ।
यस्तै, ज्वालाले अर्थ मन्त्रालयबाट पूर्वाधार मन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेटको सिलिङ १ सय १३ अर्ब रुपैयाँको मात्र दिइएको बताए । उनका अनुसार आगामी आवमा गौरवका आयोजनामा आधा बजेट घटाउनु पर्ने बाध्यता रहेको छ । पूर्वाधार क्षेत्र नेपालको पहिलो प्राथमिकता पर्ने कुरामालाई पनि ज्वालाले जोड दिए । आगामी बजेट आएपछि अहिले भएका टेन्डरलाई अगाडि बढाउने नै तयारी रहेको पनि ज्वालाले जानकारी दिए ।
उनले आगामी आवबाट ईभीका सवारीलाई प्रोत्साहन गर्ने कार्यक्रम आवश्यक रहेको बताउँदै ईभीका सार्वजनिक सवारीमा मान्छेको आकर्षण बढाउन आवश्यक रहेको बताए ।