
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक पोलमा जडान भएका बत्तिहरुको विद्युतको महशुल भुक्तानी गर्न आग्रह गरेको छ । विद्युत महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीमा रहेकाले रकम भुक्तानी गर्न आग्रह गरेको हो ।
स्थानीय निकायले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान गर्ने क्रम बढ्दो रहेको र सडक बत्तीको विद्युत शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत खपतको समेत महसुल भुक्तानी नहुँदा ठूलो नोक्सानी व्यहोर्नुपरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले महानगरपालिका, उप-महानगरपालिका, नगरपालिकार, गाउँपालिका र वडा कार्यालयहरूलाई सडक बत्ति जडान गरेवापतको रकम भुक्तानी गर्न प्राधिकरणले आग्रह गरेको हो ।
सडक बत्तीको बाँकी बक्यौता विद्युत महसूल शीघ्र भुक्तानी गर्नुपर्ने, प्राधिकरण अन्तर्गतको वितरण केन्द्रहरूको सहमति नलिई विद्युत लाइनबाट सडक बत्ती जडान नगर्न, जडित सडक बत्तीको विद्युत खपत मापनका लागि आगामी ४५ दिनभित्र मिटर जडान गर्नुपर्ने र सडक बत्ती सम्बन्धी अन्य थप जानकारीका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राख्न प्राधिकरणले बताएको छ ।
सडक बत्तीका लागि सिङ्गल फेज इनर्जी मिटर प्राधिकरणले निःशुल्क उपलब्ध गराउने जनाएको छ ।
‘एउटा सिङ्गल फेज इनर्जी मिटरबाट १ सय वाटको ५० वटाभन्दा बढी सडक बत्तीको विद्युत खपत मापन गर्न सकिने हुँदा प्रत्येक सडक बत्तीलाई छुट्टाछुट्टै इनर्जी मिटर उपलब्ध नगराइने र मिटरको क्षमता तथा सडक बत्ती जडान गरेको क्षेत्रको आधारमा सम्बन्धित वितरण केन्द्रसँग समन्वय गरी स्थानीय निकायले छुट्टै केवल तानी सडक बत्तीका लागि मिटर जडान गर्नुपर्नेछ,’ प्राधिकरणले भनेको छ ।
साथै, तोकिएको समयमा सडक बत्तीमा मिटर जडान नगरेमा वा विद्युत महसुल बाँकी बक्यौता भुक्तानी नगरेमा प्रचलित नियमानुसार कारबाही गर्ने नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले चेतावनी दिएको छ ।