काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहा(बालेन)ले चाडपर्व भन्दै फुटपाथमा व्यापार गर्न नपाइने बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत मेयर शाहले फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिने निती चाडवाडको कारण नरोकिन बताएका हुन् ।
उनले पैदल यात्रीका लागि पर्वका समयमा अन्य समयभन्दा जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर बाहिर निस्कने हुनाले फुटपाथ अझ बढी आवश्यक पर्ने बताएका छन् ।
‘सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ,’ उनी लेख्छन् ।