
फाइल फाेटाे
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मदको मृत्यु भएको छ । केहीबेर अगाडि चलेको गोली लागेर घाइते भएका सर्लाही हरिवन नगरपालिका-२ का ५५ वर्षीय लाल मोहम्मदको उपचारको क्रममा मृत्यु भएको हो ।
सोमबार साँझ बन्दुकधारी समूहले गोली हानी घाइते बनाएका उनलाई त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । अस्पतालले केही बेरमै उनलाई मृत घोषणा गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले बताए ।
उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो । प्रहरीका अनुसार उनलाई मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेको थियो । गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका सबै नाकाहरुमा कडाई गरिएको छ ।
यो घटनाको बारेमा काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।