काठमाडौं । मोरङ व्यापार संघले बैंकको बढ्दो ब्याजदरले उद्योगी तथा व्यवसायी मारमा परेको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले बढ्दो बैंक व्याजदर, महंगी र नजिकिँदो चाडपर्वमा समेत सुस्त रहेको स्थानीय बजारले आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।
संघले चर्किंदै गएको बैंक व्याजदर, तरलता अभाव तथा आयातमा गरिएका कडाईले औद्योगिकरव्यवसायिक आर्थिक चक्र नराम्ररी प्रभावित भएको बताएका छन् । लगानी योग्य पूँजीको अभावमा उद्योग र व्यवसायहरु आ–आफ्ना क्षमता अनुरुप कार्य गर्न नसकेको उनीहरुको भनाइ छ ।
‘विगत ६ महिना मै एकल अंकको बैंक व्याजदर दोब्बर हुन गएको छ भने छोटो अवधि मै भद्र सहमति भंग गर्दै बैंकहरुले आफूखुशी ४ प्रतिशतसम्म स्पे्रड दर कायम गरेका छन् । यसबाट कोभिड पश्चात् विस्तारै लयमा फर्कदै गरेको अर्थतन्त्रलाई पुनः उच्च बैंक व्याजदरको धक्का लागेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
साउनमा मात्रै ९ अर्ब रुपैयाँ कमाएको बैंकले उद्योग÷व्यवसाय र उपभोक्ताहरुको नाजुक अवस्था प्रति चाँसो नदिएको उनीहरुको भनाइ छ ।
संघले नेपाल राष्ट्र बैंकले हाल जारी गरेको चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ का केही प्रावधानहरु समेत तत्कालै सुधार गर्नुपर्ने बताएको छ ।
यस्तै, खुल्ला सीमाबाट चोरी निकासी पैठारी समेत हुने गरेकाले स्वदेशी उद्योग/व्यवसाय थप पिडित भएको र स्वदेशी बजारको सुरक्षा एवं सु–व्यवस्थापनका लागि समेत सरकारको कुनै ठोस नीति नहुनु बिडम्बनाको विषय भएको संघले बताएकाे छ ।
संघले बैंक तथा सरकारलाई व्यवसायीहरुको अवस्था प्रति गम्भिर जिम्मेवारीपूर्वक तत्काल कदमहरु चाल्न माग गरेको छ ।